June 2, 2026, Tuesday
२०८३ जेष्ठ १९ मंगलवार

रास्वपा सभापति लामिछानेद्वारा भैरहवादेखि भारतका सहरमा उडान प्रस्ताव

Advertisement

भैरहवा– भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि भारतका विभिन्न सहरहरुमा नियमित हवाई उडानको प्रस्ताव गरेका छन् ।

Advertisement

भारतबाट प्रकाशित हुने दैनिक पत्रिका हिन्दुस्तान टाइम्समा प्रकाशित लेखमार्फत् लामिछानेले उक्त प्रस्ताव गरेका हुन् । उनले पोखरा र लुम्बिनीबाट भारतमा सीधा हवाई उडान गर्न जोड दिएका छन् । मुलुकमा काठमाडौंपछि भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेका छन् ।

गौतमबुद्ध विमानस्थललाई लक्षित गरी निजी क्षेत्रले अर्बौं लगानी गरेको छ । तर, नियमित उडान नहुँदा लगानी डुब्ने जोखिममा रहेको भन्दै चिन्ता बढीरहेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट बक्क्तव्यमा गौतमबुद्ध विमानस्थल संचालनका लागि निजी क्षेत्रसँग साझेदारी गर्ने जनाएको छ ।

सभापति लामिछानेको भारत भ्रमणका क्रममा विमानस्थलको कुरा उठेपछि निजी क्षेत्र उत्साहित छ । सभापति लामिछानेले विमानस्थलका बारेमा यसअघि पनि चासो व्यक्त गर्दै आएका थिए ।

भ्रमणका क्रममा लामिछानेले नेपाल–भारत हवाई सम्पर्क विस्तारको नयाँ एजेन्डा अघि सारेका हुन् । उनले पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेङ्गलुरुजस्ता भारतीय शहरमा सिधा उडान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । लामिछानेको पहलले सार्थकता पाएमा विमानस्थल नियमित संचालन हुने अपेक्षा गरिएको छ ।