बुटवल–नारायणगढ खण्डको यात्रा सहज बन्दै


भैरहवा—लामो पर्खाइपछि बुटवल–नारायणगढ सडक खण्डमा यात्रा सहज बनेको छ । केही समयदेखि समस्याका रुपमा रहेको उक्त खण्ड अन्तर्गत दाउन्नेमा ढलानको काम सकिएपछि यात्रा सहज बनेको हो ।
सात वर्षदेखि दाउन्ने क्षेत्रमा जाम, हिलो र धुलोले गर्दा सास्ती हुँदैं आएको थियो । दाउन्ने खण्डको सबैभन्दा बढी सवारी अवरुद्ध हुने विश्वकर्मा बाबा मन्दिर, पैसठ्ठी मोडलगायतको क्षेत्रमा सडक ढलान भएपछि यात्रा सहज हुन थालेको हो ।
यो खण्ड अधुरो हुँदा १०–१२ घण्टासम्म जाममा बस्नुपर्ने अवस्था थियो । अहिले दाउन्ने खण्डको १४ किलोमिटर खण्ड आधा घण्टामा पार भइरहेको यात्रु गोबिन्द चापागाईले बताए । ‘दाउन्ने भन्ने बित्तिकै यात्रा नै नगरौं जस्तो हुन्थ्यो । ढिलै भए पनि सडक निर्माण भएर सहज भएको छ,’ उनले भने,‘अब बुटवलबाट नारायणगढ बढीमा साढे दुई घण्टामा पुगिन्छ ।’
विस्तारका क्रममा रहेको बुटवल–नारायणगढ खण्ड अन्र्तगत दाउन्ने क्षेत्रमा ९३ प्रतिशत भन्दा बढी काम भएको छ । यात्रुले सबैभन्दा बढी सास्ती र घण्टौं जाममा बस्नुपर्ने समस्या भोगिरहेको १४ किलोमिटरमध्ये अधिकांश भागमा ढलान र कालोपत्र गरिएको सडक बिस्तार आयोजनाले जनाएको छ । जेठ १५ सम्ममा दाउन्नेमा ढलानको काम सक्ने योजना भए पनि पश्चिम खण्डमा पर्ने दाउन्ने बजार र खुर्सानी खोलामा १ सय ९० मिटर काम बाँकी रहेको आयोजनाको पश्चिम खण्डका सूचना अधिकारी विकास खनालले बताए ।
यो खण्डको काम समयमै नभएपछि चौथो पटक म्याद थप भएको थियो । पूर्वी खण्डको म्याद आगामी २०८३ साउन ७ र पश्चिम खण्डको म्याद २०८३ साउन ५ सम्म थप भएको छ । २०७५ चैतबाट काम सुरु भएर ४४ महिनामा सम्पन्न हुनुपर्ने आयोजना तेस्रो पटक म्याद थप भएको हो । चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले दुई खण्डको १ सय १४ किलोमिटर सडक विस्तारको काम गर्न १७ अर्बमा ठेक्का लिएको थियो ।








प्रतिकृया दिनुहोस्