May 31, 2026, Sunday
२०८३ जेष्ठ १७ आईतवार

पाल्पाको निस्दीमा १२ उत्तीर्ण गरी २० बर्ष पुगेर बिवाह गर्नेलाई सम्मान

Advertisement

पाल्पा–बालविवाह अन्त्य गर्दै बालमैत्री स्थानीय शासन लागू गर्ने अभियान अन्तर्गत पाल्पाको निस्दी गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पूरा भएपछि विवाह गर्ने महिलालाई नगदसहित सम्मान गरेको छ ।

Advertisement

अभियानको पहिलो चरणमा गाउँपालिकाले २७ जना महिलालाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८१ साउन १ देखि २०८२ वैशाख ३१ गतेसम्म निस्दी गाउँपालिकाभित्र स्थायी बसोबास गरिरहेका कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगेर विवाह गर्ने महिलालाई प्रोत्साहन पुरस्कार दिइएको हो ।

चालु आर्थिक वर्षमा बालविवाह अन्त्य गर्ने लक्ष्य उक्त पालिकाले लिएको छ । आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा उनीहरूलाई ५ हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको छ । गाउँपालिकाले २०८२ जेठ १ देखि २०८३ वैशाख ३१ सम्म कक्षा १२ उत्तीर्ण गरी २० वर्ष पूरा भएपछि विवाह गर्ने महिलाहरूको विवरण वडा कार्यालयमार्फत नागरिकताको प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र विवाह दर्ता प्रमाणपत्रसहित माग गरेको थियो ।

बालविवाह न्यूनीकरणका लागि सचेतना जगाउन तथा महिलालाई शिक्षामा आकर्षित गर्न नगदसहित सम्मान गरेको लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रा गहतराजले बताइन् । महिलालाई उद्यमसँग जोड्न सकियो भने यस्ता अभियान अझ प्रभावकारी हुने बताइन् ।

२०७९ सालसम्म २ सय ७६ जोडीले बालविवाह गरेको निस्दी गाउँपालिकामा चालु आर्थिक वर्षमा भने बालविवाह गर्ने जोडीको संख्या घटेर ७ मा रहेको गाउँपालिका उपाध्यक्ष तिरनकुमारी श्रेष्ठले जनाइन् । उनका अनुसार, बालविवाह गरेका ती ७ जोडीलाई समेत पालिकाले उमेर नपुग्दै विवाह गरेको भन्दै आ–आफ्नो घर फिर्ता गरेको छ ।

अधिकार दिवसकै अवसरमा आधारभूत तह, एसईई, कक्षा १२ मा निस्दी गाउँपालिकाभित्रबाट उत्कृष्ट अंक ल्याउनेलाई र पालिकाभित्रबाट अघिल्लो वर्ष स्नातकोत्तर तह उत्तीर्ण गर्ने एक जना महिलालाईसमेत नगदसहित सम्मान गरिएको छ ।