May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

गर्मी छल्न र पर्यटक भुलाउन रूपन्देहीका होटलैपिच्छे अफर

Advertisement

भैरहवा– रुपन्देही लगायत सिमावर्ती जिल्लामा अचाक्ली गर्मी भएपछि यहाँका होटलहरुले स्विमिङ पुलमा विभिन्न अफर सार्वजनिक गरेका छन् । गर्मी छल्न आउने स्वदेशी र भारतीय लक्षित गरेर यस्तो अफर सार्वजनिक गरेका हुन् । जिल्लास्थित तारे होटलदेखि वाटर पार्कले पौडीसित जोडेर मनोरञ्जनात्मक कार्यक्रम तय गरेका हुन् ।

Advertisement

बुटवलस्थित पाँचतारे ह्यात प्यालेसले आउँदो शनिबार बबल बास कार्यक्रम आयोजना गरेको छ । पौडी पोखरी लक्षित गरेर मुलुकमा पहिलोपटक यस्तो कार्यक्रम गर्न लागेको जनाएको छ । उक्त होटलकी एसोसियट डाइरेक्टर अफ सेल्स निशा थापाका अनुसार बबल बास एक किसिमको पुल पार्टी नै हो । उक्त कार्यक्रममा भारतबाट प्रतिष्ठित कलाकार आउनेछन् । उक्त कार्यक्रममा खाना समेत समेटिएको छ । ‘यो पुल पार्टी हो,’ उनले भनिन्, ‘साना बच्चादेखि वयस्कसम्म लक्षित गरिएको छ ।’ पौडीसँगै संगीत र मनोरञ्जनात्मक खेल आयोजना गरिने थापाले बताइन् । भारतीय र नेपाली पर्यटक लक्षित गरेर कार्यक्रम गरिएको हो ।

तिलोत्तमास्थित पाँचतारे टाइगर प्यालेस बाई सोल्टीले शुक्रबार, शनिवार र आइतबारका लागि विशेष कार्यक्रम गरिरहेको छ । यसअघि शुक्रबार र शनिबार पौडी र मनोरञ्जनका कार्यक्रम गर्दै आएका थियो । अहिले सरकारले आइतबार पनि सार्वजनिक बिदा दिन थालेपछि विभिन्न प्याकेज सार्वजनिक गरेर होटलले मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्दै आएको छ । गर्मी याममा नेपाली र भारतीय पर्यटक आकर्षित गर्न यस्तो कार्यक्रम गरिएको होटलले जनाएको छ । अहिले गर्मी छल्न भारतबाट धेरै पर्यटक आउने गरेका छन् । उनीहरु परिवार सहित यहाँ आएर रमाउने गर्छन् ।

लुम्बिनीस्थित पाँचतारे होटल लुम्बिनी हेरिटेजले आन्तरिक पर्यटक लुम्बिनी आकर्षित गर्न सस्तो प्याकेज ल्याएको छ । जेठ दोस्रो साता लगातार परेको चार दिने सार्वजनिक बिदामा मुलुकका विभिन्न ठाउँबाट घुमफिर गर्ने रहर भएका व्यक्ति लक्षित गरेर होटलले मंगलबार उक्त प्याकेजबारे जानकारी दिएको हो । विशेष अफर बाहेक पर्यटकले एक–दुई दिनका लागि आफूलाई आवश्यक सुविधा लिन सक्नेछन् ।

होटलका महाप्रबन्धक बिजेन्द्रभक्त भाजुले बिहीबारबाट लागू हुनेगरि १५ हजार नेपाली रुपैयाँमा तीन रात, चार दिनको प्याकेज सार्वजनिक गरिएको जनाए । यो प्याकेज खरिद गर्ने व्यक्तिले कोठा, खाजा–खाना, सबै इभेन्ट र स्विमिङ पुलमा प्रवेश पाउने भाजुले बताए । उनका अनुसार बिहीबार मुश्लिम समुदायको चाड ईद परेकाले उक्त चाड लक्षित गरेर प्याकेज ल्याइएको बताए । ईदको अवसरमा लुम्बिनीमा विशेष कार्यक्रम थिएनन् । ‘काठमाडौं, पोखरा, चितवन र आसपासका आन्तरिक पर्यटक लक्षित गरेर प्याकेज ल्याइएको हो,’ उनले भने, ‘लुम्बिनीमा नेपालीको आगमन बढोस् भनेर सस्तो प्याकेज ल्याएका हौं ।’ उनका अनुसार शनिवार पुल पार्टी आयोजना गरिनेछ ।

भैरहवास्थित पाँच तारे सिद्धार्थ भिलासाले गत साता सिद्धार्थ फुड एण्ड फन कार्यक्रम गरेको छ । नेपाली रैथाने देखि विभिन्न मुलुकका स्वाद समेटिएको उक्त दुई दिने कार्यक्रममा राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुति दिएका थिए । होटल परिसरमा भएको कार्यक्रमका दुबै दिन पाहुना खचाखच थिए । यस्ता कार्यक्रमले आन्तरिक र बाह्य पर्यटक आकर्षिक गर्न सहयोग मिल्ने सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका ग्रुप सीइओ कृष्ण न्यौपानेले बताए ।

रुपन्देहीकै लुम्बिनी प्यालेसले रिसोर्टले पनि प्रत्येक शनिबार ६ बजेपछि पाहुना आकर्षित गर्न सांगीतिक साँझ आयोजना गरिरहेको छ । उक्त रिसोर्टका अनुसार शनिवार साँझ ६ बजेपछि संगीत, खाना, पेय पदार्थ उपलब्ध गराइने छ । परिवार सहित सांगीतिक माहोलमा रमाउन पाइने रिसोर्टले जनाएको छ । यस बाहेक सार्वजनिक बिदाका लागि पनि विभिन्न अफर सार्वजनिक गरेको छ । त्यसका लागि रिसोर्टले सस्तो प्याकेज सार्वजनिक गरेको छ ।