लुम्बिनी प्रदेश सभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुने


दाङ– लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत सातौं बैठक मंगलबार दिउँसो १ बजे बस्दैछ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३–०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिनेछ ।
बैठकको सुरुमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्नो धारणा राख्ने कार्यसूची छ । त्यसपछि सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण गर्न बनेको विधेयक, २०८३’ सभामा पेश गर्नेछन् ।
त्यसैगरी प्रदेश प्रमुखद्वारा प्रस्तुत गरिएको लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३–०८४ को ‘वार्षिक नीति तथा कार्यक्रम’को एक प्रति मुख्यमन्त्री चेतनारायण आचार्यले सभामा पेश गर्ने कार्यसूची रहेको छ ।
प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी सम्बोधनका लागि धन्यवाद ज्ञापन प्रस्ताव पेश गर्नेछन् भने उक्त प्रस्तावलाई प्रदेश सभा सदस्य जमुना ढकालले समर्थन गर्नेछिन् । त्यसपछि सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने जनाइएको छ ।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले ‘वार्षिक नीति तथा कार्यक्रम’ माथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् । प्रस्तावमाथि छलफल पश्चात प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।








प्रतिकृया दिनुहोस्