May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

सबैको भावना समेटेर बजेट ल्याउँछौंः मुख्यमन्त्री आचार्य

Advertisement

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट जनमुखी बनाउने बताएका छन् ।

Advertisement

प्रदेश सुशासन केन्द्रले शुक्रबार भालुबाङमा आयोजना गरेको ‘कानुन, बजेट तथा योजना निर्माण र संसदीय नियन्त्रण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले आगामी वर्षको नीति तथा कार्यक्रम तथा बजेट निर्माणको तयारी तीव्र रुपमा अघि बढाइएको बताए ।

उनले सबैको भावना समेटिने गरी नीति तथा कार्यक्रम तथा बजेट ल्याइने उल्लेख गरे । ‘हामी आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटिरहेका छौं । सबैको भावना समेटिने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी छ,’ उनले भने, ‘नीति तथा कार्यक्रममा टेकेर बजेट ल्याउँछौं ।’

प्रदेश सुशासन केन्द्रका प्रमुख कार्यकारी निर्देशक उजिरप्रसाद न्यौपानेले प्रदेश सरकारले आगामी बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर निर्माण गर्ने तयारी गरेको जनाए । चालु खर्च नियन्त्रण, पूँजीगत खर्चको प्रभावकारिता वृद्धि, सार्वजनिक खर्चमा मितव्ययिता तथा वित्तीय अनुशासनलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।

कबजेटमा कृषि, उद्योग, पर्यटन, ऊर्जा तथा पूर्वाधार क्षेत्रमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाउने सरकारको योजना छ । आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने क्षेत्रलाई विशेष प्राथमिकता दिइने भएको छ ।

युवा लक्षित सीप विकास, स्टार्टअप, स्वरोजगार तथा नवप्रवर्तनमा आधारित कार्यक्रममार्फत प्रदेशभित्रै रोजगारी सिर्जना गर्ने नीति ल्याउने तयारी गरिएको छ ।

त्यसैगरी डिजिटल शासन प्रणाली विस्तार गर्दै सेवा प्रवाहलाई सरल, छिटो, पारदर्शी तथा नागरिकमैत्री बनाइने भएको छ । राजस्व प्रशासन, सार्वजनिक खरिद, लेखा व्यवस्थापन तथा सेवा प्रवाहमा डिजिटल प्रणालीको प्रयोग बढाउने गरी सरकारले प्राथमिकताका क्षेत्र निर्धारण गरेको जनाएको छ ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, संसदीय समितिका सभापति तथा प्रदेश सभा सदस्यहरुको सहभागिता थियो ।