May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

भैरहवाको पाँचतारे होटल भिलासामा ‘सिद्धार्थ फुड एण्ड फन’

Advertisement

भैरहवा– नेपाली रैथाने खानाको प्रवर्द्धन गर्न स्वदेशी विभिन्न क्षेत्रका मौलिक स्वादका खानाहरुलाई एउटै स्थानमा ल्याउँदै सिद्धार्थ हस्पिटालिटी ग्रुपले यही जेठ ९ र १० गते भैरहवामा खाना महोत्सव अर्थात् ‘सिद्धार्थ फुड एण्ड फन’ को आयोजना गरेको छ ।

Advertisement

पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त ग्रुपले भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सांगीतिक कार्यक्रम सहितको खाना महोत्सवको आयोजना गरिएको जानकारी दिएको छ । महोत्सवमा नेवारी, हिमाली, थारु, मध्यपश्चिम तथा पूर्वी भेगका परम्परागत खानासहित कन्टिनेन्टल, भारतीय, चिनियाँ, अरेबिक तथा मेडिटेरियन परिकारका खानाको स्टल रहने जानकारी आयोजकले गराएका छन् ।

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका सिईओ कृष्ण न्यौपानेले महोत्सवमा नेपाली रैथाने परिकारदेखि अन्तर्राष्ट्रिय खानासम्मको स्वाद एउटै थलोमा उपलब्ध गराइने र आन्तरिक उत्पादनको प्रवर्द्धन, नेपाली परम्परा तथा पहिचानको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य महोत्सवको रहेको बताए । ‘यो खाना महोत्सव मार्फत् नेपाली मौलिक खानाको ब्राण्डलाई विश्वसामु पहिचान दिलाउनु पनि हाम्रो उद्देश्य हो’, न्यौपानेले भने । यो महोत्सव सिद्धार्थ बिजनेश ग्रुपको भैरहवा क्षेत्रमा पहिलो भएको उनले जनाए ।

महोत्सवमा खाना खाने प्रतियोगिता, घरेलु खाना पकाउने प्रतियोगिता, बालबालिकामुखी खेल, मनोरञ्जनात्मक गतिविधि तथा विभिन्न सहभागितामूलक कार्यक्रम सञ्चालन गरिनेछ । खाना पकाउने प्रतियोगितामा इच्छुक सहभागीले सिद्धार्थ भिलासा भैरहवामा सम्पर्क गरि नाम दर्ता गरेर भाग लिन सक्ने व्यवस्था मिलाइएको छ ।

मेचीदेखि महाकालीसम्म फैलिएको सिद्धार्थ ग्रुपले आफ्नै लगानीका सञ्चालित ३० वटा होटलमा कार्यरत सेफले आ–आफ्नो भेगका बिशेष परिकार महोत्सवमा उपलब्ध गराउने छन् । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकार, ब्याण्डको सांगीतिक प्रस्तुती रहने छ । महोत्सवको पहिलो दिन जेठ ९ गते गायिका समीक्षा अधिकारी र गायक अर्जुन सापकेटाको प्रस्तुति रहनेछ भने जेठ १० गते गायक दीपक बज्राचार्य र उनको ब्याण्डले सांगीतिक प्रस्तुति दिनेछन् । दुवै दिन लुम्बिनी क्षेत्रका स्थानीय कलाकारले पनि लोक तथा सांस्कृतिक प्रस्तुति दिने छन् ।

सिद्धार्थ हस्पिटालिटीका क्षेत्रीय निर्देशक महेन्द्र न्यौपानेले महोत्सवमा उपलब्ध गराइने खानाको परिकारको मूल्य पाँचतारे होटल अनुरुप नभएर सामान्य दरमा उपलब्ध गराइने जनाए ।

हाल सिद्धार्थ हस्पिटालिटीअन्तर्गत पाँचतारे स्तरमा सिद्धार्थ भिलासा, चारतारे स्तरमा सिद्धार्थ वैभव र तीनतारे स्तरमा सिद्धार्थ बाटिका ब्रान्ड सहित नेपालको विभिन्न ३० स्थानमा सिद्धार्थ कटेज एवम् सिद्धार्थ क्याफे संचालनमा छन् । २ हजार ५ सय भन्दा धेरै रोजगार छन् । यो उत्सवले भैरहवा र आसपासलाई गुल्जार बनाइ पर्यटकीय विकासमा टेवा पुग्ने क्षेत्रीय निर्देशक न्यौपानले बताए ।