लुम्बिनीमा दुर्घटनाको अवस्था भयाबह, १० महिनामा ४९३ को मृत्यु


भैरहवा– लुम्बिनी प्रदेशमा दुर्घटनासँगै ज्यान गुमाउनको संख्या बृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८२–०८३ को बैशाख मसान्तसम्म प्रदेशमा भएका गाडी दुर्घटनामा परेर ४ सय ९३ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म लुम्बिनी प्रदेशमा ४ हजार ४ सय ८८ सवारी दुर्घटना भएका ह्न् ।
यस अवधिमा दुर्घटनामा परेर ४ सय ९३ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । साथै ७ हजार ५ सय ८ जना घाइते भएका छन् । गत वर्ष यसै अवधिमा ४ सय २४ जनाको मृत्यु र ४ हजार ५ सय ५४ जना घाइते भएका थिए ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले चालु आर्थिक वर्षमा प्रदेशभर ९४ हजार ८ सय ४१ ट्राफिक कारबाही गरिएको जानकारी दिएको छ । कार्यालयले दुर्घटना, ट्राफिक कारबाही तथा राजस्व संकलन सम्बन्धी विवरण सार्वजनिक गर्दै ओभरलोड, मापसे, तीव्र गति र अव्यवस्थित सवारी सञ्चालनमाथि कडाइ गरिएको जानकारी दिएको हो ।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माका अनुसार अहिलेसम्म २४ हजार २ सय ६६ ओभरलोड सवारी साधनबाट ४ करोड १८ लाख २६ हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको छ । ओभरलोड बोकेका १ हजार ४ सय ४९ सवारी साधनलाई यातायात व्यवस्था कार्यालय पठाइएको र ती सवारीबाट थप १ करोड ४३ लाख ७० हजार ८ सय रुपैयाँ जरिवाना गरिएको छ ।
त्यस्तै स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५ सय ७२ मोटरसाइकललाई नियन्त्रणमा लिई थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएकोमा ४७ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । कार्यालयका अनुसार लागुऔषध सेवन (लापसे) गरेर सवारी चलाउने ३९ जना चालक र मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ४ हजार ७ सय ७५ चालकलाई कारबाही गरिएको छ ।
यस अवधिमा आफुखुसी सिट तथा मुढा राखेका ५ सय ८३ सवारी साधनलाई कारबाही गरिएको छ भने सार्वजनिक तथा निजी सवारीमा चालकको दृश्य अवरोध गर्ने फूल, झिलिमिली, माला लगायत सामग्री हटाइएको छ । ट्राफिक प्रहरीले ७ सय २३ सवारी साधनबाट २ सय थान ग्लेयर कजिङ लाइट्स फोकस, फग तथा शो लाइट र ६८५ सवारीबाट १ हजार १ सय ७४ थान सामग्री झिकिएको जनाएको छ ।
नियमविपरीत जडान गरिएका ८२ वटा हुड अर्थात छत हटाइएको छ । प्रयोजनविपरीत रातो प्लेट प्रयोग गरी यात्रु बोकेको पाइएपछि ८ सय ६७ सवारी साधनलाई कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको छ भने १ हजार ५ वटा नम्बर प्लेट सुधार गरिएको कार्यालयले जनाएको छ ।
लामो समयसम्म नवीकरण नगरी सञ्चालन गरिएका १ सय ७० सवारी साधनलाई नियन्त्रणमा लिई यातायात व्यवस्था कार्यालय पठाइएकोमा यसबाट १५ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । यस्तै यातायात व्यवस्था कार्यालयका प्राविधिक र ट्राफिक प्रहरीको संयुक्त टोलीले मेकानिकल तथा प्राविधिक परीक्षण गर्दा ६२ वटा सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ ।








प्रतिकृया दिनुहोस्