मूल्यवृद्धि नरोकिए निर्माण कार्य ठप्प हुने लुम्बिनी निर्माण व्यवसायी संघको चेतावनी


भैरहवा– लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीले निर्माण सामाग्री तथा इन्धनमा भएको चर्को मूल्यवृद्धिका कारण निर्माण कार्य प्रभावित भएको भन्दै सरकारलाई ध्यानाकर्षण गराएको छ ।
संघले बिहीबार जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाउँदै यस्तो जनाएको हो । ज्ञापनपत्रमा निर्माण कार्यमा स्वचालित मूल्य समायोजनको व्यवस्था गर्न माग गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मेघानाथ पाध्यामार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै संघले पछिल्लो समय डिजेल, बिटुमिन, फलाम, निर्माण सामाग्री, ढुवानी खर्च तथा श्रमिक लगायतमा मूल्य अत्यधिक बढेको जनाएको छ । डिजेलको मूल्य प्रतिलिटर दुई सय रुपैयाँ बढी तथा बिटुमिनको मूल्य पनि उल्लेख्य रूपमा बढेकाले निर्माण व्यवसायीहरू ठूलो आर्थिक दबाबमा परेको संघले जनाएको छ ।
ज्ञापनपत्रमा निर्माण क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौं नागरिक आबद्ध रहेकाले मूल्यवृद्धिको असर समग्र अर्थतन्त्रमा परेको उल्लेख छ । हालको परिस्थितिमा पुरानै दररेटमा निर्माण कार्य सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको संघका अध्यक्ष रमेश बेल्वासेले बताए ।
संघले नेपाल निर्माण व्यवसायी महासंघको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको महासचिब प्रितम रौनियारले जनाकारी दिए । निर्माण व्यवसायीहरूले समयमै मूल्य समायोजनको निर्णय नगरे धेरै आयोजना प्रभावित हुने र निर्माण कार्य ठप्प हुने चेतावनी समेत दिएका छन् । व्यवसायीले प्रशासन अगाडि आधाघण्टा धर्ना दिँदै नालायक सरकार मुर्दाबाद, कालोबजारी बन्द गर, निमार्ण व्यवसायी माथि धरपकड बन्द गर, ठेक्काको म्याद थप गर, मूल्य बृद्धि रोक्न र मूल्य समायोजन गर्न माग गर्दै नारा लगाएको थिए ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी पाध्याले ज्ञापन पत्रलाई आफूले सम्बन्धित निकाएमा पठाउने र आएको जानकारी संघलाई गराउने बताए । त्यस्तै, निर्माण व्यवसायीहरूले बैंक ग्यारेन्टी, इन्स्योरेन्स, धरौटी तथा पेश्कीसम्बन्धी व्यवस्थामा समेत सहजीकरण गर्न सरकारसँग माग गरेका छन् ।








प्रतिकृया दिनुहोस्