August 25, 2026, Tuesday
२०८३ भाद्र ९ मंगलवार

वन्यजन्तुलाई पानी अभाव हुन नदिन सोलार प्रविधियुक्त पोखरी

Advertisement

बर्दिया–गर्मी याममा वन्यजन्तुका लागि पानीको अभाव हुन नदिन बर्दियाको कृष्णसार संरक्षण क्षेत्रमा सोलार प्रविधियुक्त पोखरी निर्माण गरिएको छ ।

Advertisement

अत्याधिक गर्मी बढेको वेला जंगलमा पानी सुकेर दुर्लभ वन्यजन्तु कृष्णसारलाई खाने पानीको अभाव हुने भएकाले संरक्षण क्षेत्रभित्र विभिन्न स्थानमा सोलार पोखरी निर्माण गरिएको हो ।

कृष्णसार संरक्षण क्षेत्र कार्यालय बर्दियाका सूचना अधिकारी रामु केसीले संरक्षण क्षेत्रभित्र पर्याप्त पानी नहुँदा कृष्णसार पानीको खोजीमा बाहिरिने र त्यस क्रममा कुकुर तथा शिकारीको आक्रमणमा पर्ने जोखिम बढ्ने गरेको बताए । उनका अनुसार, पोखरी निर्माणपछि संरक्षण क्षेत्रभित्रै पानीको सहज उपलब्धता हुने भएकाले कृष्णसारको सुरक्षा र संरक्षणमा थप सहयोग पुग्ने छ ।

बर्दियाको गुलरिया नगरपालिका–२ स्थित कृष्णसार संरक्षण क्षेत्रमा हाल ६ स्थानमा सोलार पोखरी निर्माण गरिएको छ । करिब २ हजार ५ सय ५० बिघा क्षेत्रफलमा फैलिएको संरक्षण क्षेत्रमा हाल २ सय ४४ कृष्णसार छन् । तीमध्ये ६१ भाले, १ सय ६८ पोथी र १५ बच्चा छन् । सोलार प्रणाली बिहान घाम लागेपछि सञ्चालन हुने र साँझ घाम अस्ताएपछि स्वतः बन्द हुने भएकाले पोखरीमा निरन्तर पानीको उपलब्धता हुने गर्छ ।

तराई क्षेत्रमा विशेष गरी गुलरिया आसपासमैं कृष्णसारको प्राकृतिक वासस्थान रहेको पाइन्छ । गुलरिया नगरपालिका–२ का वडाध्यक्ष टंकप्रसाद अधिकारीले स्थानीय समुदायले सुरु गरेको संरक्षण अभियानलाई सरकारले संरक्षण क्षेत्र घोषणा गरेपछि थप व्यवस्थित रूपमा अघि बढाइएको बताए ।