July 1, 2026, Wednesday
२०८३ असार १७ बुधबार

तेह्र स्थानिय तहमा डेङ्गु संक्रमण, सतर्कता अपनाउन आग्रह

Advertisement

भैरहवा–डेङ्गुको सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभिन्न स्थानिय तहमा डेङ्गुको सङ्क्रमण बढ्न थालेको भनाइ मन्त्रालयको छ ।

Advertisement

स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मुलुकका १३ वटा स्थानीय तहमा डेङ्गु सङ्क्रमण बढेको जनाएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.अनुज भट्टचनले ती स्थानीय तहमा डेङ्गुका बिरामी बढ्न थालेपछि निगरानी र नियन्त्रणका उपाय प्रभावकारी बनाउन निर्देशन दिइसकेको बताएका छन् ।

भट्टचनका अनुसार, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, झापाको भद्रपुर, बिर्तामोड र मेचीनगर नगरपालिका, कचनकवल गाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका, म्याग्दीको बेनी नगरपालिका, चितवनको भरतपुर महानगरपालिका, रुपन्देहीको बुटवल उपमहानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुर महानगरपालिकामा डेङ्गुको सङ्क्रमण बढेको छ ।

गत पुस महिनादेखि हालसम्म देशभर करिब ६ सय जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहाले बताए । तर, हाल भइरहेको वर्षाले तत्काल डेङ्गुको जोखिम भने थप नबढाउने उनले जनाएका छन् । हाल लामखुट्टे फैलिने अनुकूल अवस्था नबनेको भनाइ उनको छ ।

पुस महिनायता देशभर डेङ्गुको अवस्थाबारे निरन्तर अध्ययन भइरहेको र अधिकांश स्थानीय तहमा छिटफुट सङ्क्रमण देखिए पनि केही क्षेत्रमा तुलनात्मक रूपमा बढी बिरामी भेटिएकाले सतर्कता अपनाउन सम्बन्धित पालिकालाई जानकारी सहित आग्रह गरिएको महाशाखाले जनाएको छ ।