कपिलवस्तुमा यातायातका साधनबाट अतिरिक्त सिट हटाउँदै ट्राफिक प्रहरी


कपिलवस्तु–सार्वजनिक यातायातका साधनमा निर्धारित सिट भन्दा अतिरिक्त राखिएका सामाग्री कपिलवस्तु ट्राफिक प्रहरीले हटाउन थालेको छ ।
यात्रुवाहक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति नियन्त्रण गर्न ट्राफिक प्रहरीले कपिलवस्तुमा सञ्चालन गरेको विशेष अभियान अन्तर्गत क्षमता भन्दा धेरै यात्रु राख्न बनाइएका अतिरिक्त सिट, मुडा र कुर्ची हटान थालेको हो ।
यो अभियान कपिलवस्तु ट्राफिक प्रहरीले बिशेष गरि कपिलबस्तुमा पर्ने राजमार्ग र मुख्य सडकहरुमा केन्द्रित गर्दै सवारी व्यवस्थापनमा कडाइ गरेको हो । कसपलवस्तुका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक राजन ढकालले सवारी दुर्घटनाको जोखिम बढ्दै गएपछि महेन्द्र राजमार्गमा सञ्चालन हुने साना तथा मझौला यात्रुवाहक सवारीबाट अतिरिक्त सिट हटाउने अभियान सुरु गरिएको बताए ।
‘क्षमताभन्दा बढी यात्रु राख्न प्रयोग गरिएका सिट, मुडा र कुर्ची हटाउँदै आएका छौँ’ उनले भने, ‘अभियान सञ्चालन गरे यता एक सयभन्दा बढी सवारी साधनबाट यस्ता सामग्री हटाइएको छ ।’ निर्धारित सिट भन्दा अतिरिक्त यस्ता सामाग्री राख्ने सम्बन्धित सवारी साधन चालकलाई पहिलो चरणमा सचेत गराइएको र अटेर गर्नेलाई जरिवाना गरिने उनले बताए ।
गाडीको निर्धारित क्षमता भन्दा अत्याधिक यात्रु राख्दा सवारी साधनको भार सन्तुलन बिग्रिने, ब्रेक प्रणालीमा दबाब बढ्ने, मोडमा सवारी ढल्किने र आकस्मिक अवस्थामा नियन्त्रण गर्न कठिन हुने लगायत्का समस्या हुने ट्राफिक प्रहरी बताउँछन् ।
सवारी साधनको भित्री संरचनामा परिवर्तन गर्दा यात्रुको सुरक्षामा प्रत्यक्ष असर पर्ने र यस्ता कारणले साना दुर्घटनादेखि ठुला मानवीय क्षतिसम्मका दुर्घटनाको जोखिम बढी हुने भनाइ ट्राफिक प्रहरीको छ । यो अभियानलाई निरन्तरता दिइने ढकालले जनाए ।








प्रतिकृया दिनुहोस्