रूपन्देहीमा ४३ लाख बढी मूल्यको हुक्का भेप बरामद


भैरहवा– जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले ठूलो परिमाणमा हुक्का (भेप) बरामद गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल उप–महानगरपालिका–११, कालिकानगरस्थित गोदाममा छापा मार्दा करिब ४३ लाख २१ हजार ५ सय रुपैयाँ बराबरका भेप र हुक्कामा प्रयोग हुने सामाग्री फेला पारी नियन्त्रणमा लिएको हो ।
साथै प्रहरीले सोही ठाउँबाट ३५ वर्षीया पिङ्कु जयसवाललाई नियन्त्रणमा लिइएको छ । साथै पक्राउ परेका जयसवालसहित बरामद सामानबारे थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाएको जनाइएको छ ।
रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार बरामद सामग्रीमा हुक्का भेप १५७ पिस, हुक्कामा प्रयोग हुने कोइला १ हजार ४ सय २२ पिस र हुक्कामा प्रयोग हुने फ्लेवर ५ सय ५२ पिस छ ।
यस्तै, हुक्का सेट १६० पिस, हुक्का बेस ३३ पिस, हुक्काको एअर बलर ४५ पिस, हुक्काको पाइप ६ सय पिस, हुक्का प्लाउट १ सय पिस, हुक्का चिलिम ७ सय पिस र हुक्का हिटर २२ पिस बरामद गरिएको डीएसपी चन्दले जनाए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध रूपमा भण्डारण तथा प्रयोग भइरहेका यस्ता सामग्रीविरुद्ध निगरानी बढाइएको बताएको छ । प्रहरीले यस्ता गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई सचेत गराउँदै कानुनविपरीत कार्यमा संलग्न भए कडा कारबाही गरिने चेतावनी दिएको छ ।








प्रतिकृया दिनुहोस्