July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

नागरिकलाई विस्थापित गरेर सुकुमबासी समस्या समाधान हुँदैनः मुख्यमन्त्री आचार्य

Advertisement

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुकुमबासी समस्या समाधान गर्ने नाममा नागरिकलाई वेघरबार बनाउने काम भइरहेको टिप्पणी गरेका छन् ।

Advertisement

प्रगतिशील लेखक संघ, रुपन्देहीद्वारा आइतबार बुटवलमा आयोजित नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठद्वारा लिखित ‘अठोट’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले उक्त कुरा बताएका हुन् ।

उनले भूमिहीन र सुकुमबासीको समस्या समाधान नागरिकलाई विस्थापित गरेर सम्भव नहुने स्पष्ट पारे । ‘पहाडबाट झरेर यहाँ बसोबास गरेका, मेहनत गरेर घडेरी जोहो गरेका र विदेश गएर घर बनाएका मानिसहरु अव्यवस्थित बसोवासी हुन् । उनीहरुलाई हुकुमबासीको नाम दिएर जवरजस्ती घरमाथि डोजर चलाउने काम भइरहेको छ,’ उनले भने, ‘अव यस्ता नागरिकको अवस्था के हुने भन्ने गम्भीर प्रश्न खडा भएको छ ।’

मुख्यमन्त्री आचार्यले अव्यवस्थित बसोबासलाई आधार बनाएर नागरिकलाई अलपत्र पार्ने काम राज्यको जिम्मेवारी नभएको उल्लेख गरे । ‘रुपन्देहीको अवस्था के हुन्छ ? नागरिकलाई अलपत्र पार्ने, विल्लिवाठ बनाउने काम राज्यले गर्न मिल्छ ?’, उनले प्रश्न गरे ।

उनले अव्यवस्थित बसोबासीलाई पुराना राजनीतिक दलका कार्यकर्तासँग जोडेर गलत व्याख्या गर्न खोजिएको भन्दै यस विषयमा बुद्धिजीवीहरुले आवाज उठाउनुपर्ने बताए ।

कार्यक्रममा मुख्यमन्त्री आचार्यले विगत दशकमा मुलुकको विकास र समृद्धिमा उल्लेख्य प्रगति भएको दाबी गर्दै विकासको प्रभावकारी मोडल प्रस्तुत गर्ने व्यक्तिका रूपमा लेखक भोजप्रसाद श्रेष्ठको प्रशंसा गरे । ‘नगर प्रमुख रहँदा उहाँले देशकै ध्यान आकर्षित गर्ने गरी काम गर्नुभयो । नतिजा दिने नेताको रूपमा उहाँ स्थापित हुनुभएको छ,’ मुख्यमन्त्रीले भने, ‘भोजप्रसाद श्रेष्ठको अनुभव र क्षमतालाई सही ढंगले उपयोग गर्न सके लुम्बिनी प्रदेशलाई ठूलो लाभ पुग्छ ।’ उनले ‘अठोट’ पुस्तकलाई प्रेरणादायी कृति भएको उल्लेख गर्दै विशेषगरी युवा पुस्ताले यस्ता कृतिबाट सिकेर अघि बढ्नुपर्ने धारणा राखे ।