July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

रोल्पा दुर्घटनामा मृत्यु हुने २० जनाकै सनाखत, एकै परिवारका ७ जना

Advertisement

भैरहवा– रोल्पाको थवाङ गाउँपालिका–१, जलजला भन्ने ठाउँमा भएको जिप दुर्घटनामा ज्यान गुमाउने सबैजनाको पहिचान खुलेको छ । रोल्पा प्रहरीका अनुसार ज्यान गुमाउनेमध्ये ७ जना एउटै परिवारका सदस्यहरू हुन् ।

Advertisement

रुकुमपूर्वको सिस्ने गाउँपालिका–५, टाकुरा भन्ने ठाउँका एकै परिवारका ७ जनाको घटनास्थलमै मृत्यु भएको हो । अहिले शवहरू संकलन गरेर थवाङतर्फ लगिँदैछ ।

दुर्घटनामा परेर २० जनाले ज्यान गुमाएका थिए । तीमध्ये ९ जना दाङका हुन् । ९ जना सिस्ने–५ टाकुराका र एक जना भूमे गाउँपालिका–५ का हुन् । एकै परिवारका दुई दाजुभाइका ७ जनाले दुर्घटनामा ज्यान गुमाएका हुन् ।

जिप करिब ८ सय मिटर तल झरेको थियो । बिहीबार पानी परेकाले र रात परेपछि खोज तथा उद्धार स्थगित गरिएको थियो । शुक्रबार बिहानैबाट सुरक्षाकर्मीसहितको पहलमा उद्धार गरेर अहिले थवाङतर्फ शव लैजान लागिएको हो ।

रुकुमपूर्वबाट थवाङ गाउँपालिका–१ जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप बिहीबार दिउँसो दुर्घटना भएको थियो । मृत्यु हुनेमा १२ जना महिला, ४ जना पुरुष र ४ जना बालक छन् ।

रुकुमपूर्व सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समिर कामी घाइते छन् । उनलाई राति नै अस्पताल लगिएको थियो । रूकुमकोट । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा रुकुम पूर्व सिस्ने गाउँपालिका–५ का गोर्ख बुढाथोकी, तिलकुमारी बुढाथोकी, युवा बिसी, दिव्यन बिसी, सृजना बुढाथोकी, सुदीप बुढाथोकी, ओमकुमारी बुढाथोकी, दाङ घोराही उपमहानगरपालिका–१५ का दोरपती जिसी, तिला जिसी, जेनिस जिसी, जेनिसा जिसी, एलिना जिसी, संयोग जिसी, यमबहादुर जिसी, घोराही–१३ की धनमाया बिष्ट, दाङ शान्तिनगर गाउँपालिकाका बेदु कामी, सिस्ने–५ की मीना कमिनी, लक्ष्मी शाह, भुमे गाउँपालिका–५ का टेकप्रसाद बस्नेत तथा सिस्ने–५ की रुक्मिना बस्नेत छन् ।