July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

गरिब विरामीलाई लक्षित गर्दै सिटी हस्पिटल भैरहवामा ‘सुलभ उपचार कार्यक्रम’ लागू हुने

Advertisement

भैरहवा–निजी क्षेत्रबाट भैरहवामा सञ्चालित सिद्धार्थनगर सिटी हस्पिटल प्रालिले विपन्न र स्वास्थ्य उपचारमा पहुँच नभएका बिरामीलाई लक्षित गर्दै ‘सुलभ उपचार कार्यक्रम’ लागू गर्ने भएको छ ।

Advertisement

उक्त अस्पतालले आइतवार पत्रकार सम्मेलन मार्फत् आउँदो बैशाख १६ गतेदेखि सुलभ उपचार कार्यक्रम लागू हुने र प्रत्येक सेवा शुल्कमा अत्याधिक सहुलियत प्रदान गरिने जानकारी दिएको छ । यो उपचार सेवा कार्यक्रम नेपाल सरकारले कुल बिरामी संख्याको १० प्रतिशत बिरामीको उपचार निःशुल्क गर्नु पर्ने भनेर निर्देशन गरेको प्रावधान भन्दा अलग हो ।

अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले यो कार्यक्रम विशेषगरी कम आय भएका र उपचारमा कम पहुँच भएका समूहलाई लक्षित गरि ल्याइएको बताए । ‘उपचार सेवा सुलभ भए पनि उपचारको गुणस्तरमा कुनै कमी हुने छैन’, पौडेलले भने, ‘सवै बर्गका बिरामीहरुलाई समयमैं गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य हो ।’

पौडेलका अनुसार, विरामीले यो उपचार सेवा लिनका लागि बिहान ७ बजेदेखि साढे ९ बजे समयभित्रै ओपीडी टिकट काटिसकेको हुनु पर्ने छ । ओपीडी टिकट देखि स्वास्थ्य जांच र उपचार शुल्कमा ५० देखि ८० प्रतिशतसम्म शुल्कमा छुट छ । सुलभ उपचार कार्यक्रम अन्तर्गत बिरामीका लागि १५ वेड छुट्याइएको छ । सुलभ ओपिडी टिकट १ सय ५०, सुलभ जनरल वार्डमा ५ सय रुपैयाँ, सुलभ आईसीयु २ हजार २ सय प्रतिदिन, सुलभ एनआईसीयुमा २ हजार, सुलभ सिटी स्क्यान ३ हजार ५ सय, सुलभ भिडियो एक्सरे ८ सय रुपैयाँ शुल्क कायम गरिएको छ । विभिन्न सल्यक्रियामा पनि सुलभ सल्यक्रिया प्याकेज सुविधा छ ।

सुलभ उपचार कार्यक्रम बाहेक प्रत्येक महिना एकजना अति बिपन्न बिरामीलाई पित्तथैलीको पत्थरी, नाक, कान, घांटी र पाठेघरको सल्यक्रिया निःशुल्क गरिने अस्पतालले जनाएको छ । गरिव बिरामीको पहिचान भने अस्पताल आफैले गर्ने छ । स्थानीय पालिकाले गरेको सिफारिसलाई आधार मान्ने छैन ।

अस्पतालका अध्यक्ष डा.सुवोध पाण्डेले समाजलाई कसरी थप सुविधा दिन सकिन्छ ? भन्ने सोंच अनुरुप सुलभ उपचार कार्यक्रम लागू गरिएको बताए । ‘गरिव र असाहाय विरामीलाई सुविधा पुर्याउने लक्ष्य अनुरुप यो कार्यक्रम ल्याइएको हो’, उनले भने ।

लुम्बिनी प्रेस क्लवका अध्यक्ष कमल रायमाझीले सिद्धार्थनगर सिटी हस्पिटल बिगत लामो समयदेखि जनताप्रति उत्तरदायी भएर काम गर्दै आएको उल्लेख गर्दै नाफामुखी भन्दा सेवामुखी भएर अझ जनतामाझ लोकप्रिय बन्न अस्पताललाई आग्रह गरे ।