तम्घासको फोहोर विक्री हुँदा सिद्धार्थननगरको घर र चोकचौराहामै थुप्रियो


भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको फोहोर संकलन हुन सकेको छैन । सिद्धार्थनगरमा घर, बजार र व्यवसायिक प्रतिष्ठानबाट उत्सर्जित फोहोर संकलन गरेर कहाँ फ्याँक्ने टुंगो छैन । सर्वोच्च अदालतको आदेशपछि सिद्धार्थनगरमा नयाँ डम्पिङ साइटको खोजी भइरहेको छ । यसअघि नगरपालिकाले भैरहवाको डण्डा किनारमा फोहोर फ्याँक्दैं आएको थियो ।
फोहोर व्यवस्थापनको मुद्दा वर्षौदेखि उठे पनि जनप्रतिनिधिले गम्भीरतापूर्वक नलिँदा समस्या भएको हो । साधन स्रोत सम्पन्न नगरपालिकाको फोहोर संकलन हुन छाडेका बेला लुम्बिनी प्रदेशको पहाडी जिल्ला गुल्मी सदरमुकामको फोहोर भने विक्री हुन थालेको छ । तम्घास नगर विकास तथा वातावरण सरसफाइ समितिले नकुहिने फोहोर पाल्पा नेप्लिज वेष्ट बैङ्कलाई बिक्री गर्न थालेको हो ।
समिति र बैंकबीच सम्झौताअनुसार प्लास्टिकका बोतल प्रतिकेजी १०, रेडबुलका बोतल प्रतिकेजी ८०, एचडिपी प्लास्टिक प्रतिकेजी आठ, पानीका बोतल प्रतिकेजी १०, फलाम प्रतिकेजी १५, सिसा प्रतिकेजी एक तथा टिन प्रतिकेजी पाँचमा बिक्री हुन थालेको हो । नगर विकास तथा वातावरण संरक्षण संस्थाले रेसुङ्गा नगरपालिकाका–१, २, ७, ८, ९ र ४ को केही भागका एक हजार ७ सय ६५ घरबाट फोहोर सङ्कलन गर्छ ।
दुई वटा ट्याक्टर, दुईजना चालक र दुईजना सहचालक राखेको समितिले शनिबारबाहेक साताको छ दिन बजारबाट फोहोर उठाएर फोहोर फाल्ने ठाउँ ओख्रेनीमा फाल्ने गर्दछ । कुहिने र नकुहिने गरी भान्साको फोहोर दैनिक दुई टन सङ्कलन हुने समितिले जनाएको छ । उक्त फोहोर छुट्याउन बैंकले तीन जना मजदुर राखेको छ ।
उनीहरूलाई फोहोरको मात्राअनुसार बैंकले भुक्तानी गर्छ । एक महिनामा गुल्मीबाट चार ट्रक फोहोर बिक्रीबाट २० हजार आम्दानी गरेको समिति अध्यक्ष रामप्रसाद पन्थीले जानकारी दिए । फोहोर बिक्री हुन थालेपछि पानीको मुहान सफा हुने भएको छ । फोहोर बिक्री नहुँदा ओख्रेनीमै जलाउने गरिएको थियो । जसले गर्दा ओख्रेनी, उदिनढुङ्गा जिप पार्क, बेदुखर्कलगायतका गाउँ सधैँ दुर्गन्धित हुने गर्दथ्यो । तम्घासदेखि ओख्रेनी हुँदै बेदुखर्क, भनपानी लगायतका गाउँ जाँदा बाटोसम्मै दुर्गन्ध फैलन्थ्यो । अहिले त्यो दुर्गन्ध हटेको स्थानीय मीना खत्रीले बताइन् ।
फोहोर फाल्ने ठाउँ तलपट्टि खानेपानीको ट्याङ्की छ । उक्त पानी तम्घास बृहत् खानेपानी उपभोक्ताको ट्याङ्कीमा जम्मा भई तम्घास बजारका मानिसले पिउँछन् । फोहोरमैला व्यवस्थित नहुँदा खानेपानी समितिमाथि पनि थुप्रै पश्न उठेका थिए । फोहोर बिक्री हुन थालेपछि खानेपानीको मुहान शुद्ध हुने स्थानीय उपभोक्ता सरस्वती सर्तुङ्गेले बताइन् । फोहोर व्यवस्थापनका लागि रेसुङ्गा नगरपालिकाले सहयोग गरेको छ । नगरले रु १३ लाख ८० हजारमा जमिन सम्याएपछि मात्रै फोहोर व्यवस्थापन एवं बिक्री सुरु गरिएको हो । उक्त रकममध्ये हालसम्म रु सात लाख भुक्तानी भएको छ भने छ लाख ८० हजार भुक्तानी हुन बाँकी छ ।
नगर प्रमुख खिलध्वज पन्थीले बजारलाई सरसफाइ राख्नु नगरको दायित्व भएकाले र यसलाई समितिले सहयोग गरेको बताए । उनले फोहोर बिक्रीबाट एकातर्फ समितिलाई आम्दानी भएको र अर्कोतर्फ बजार सरसफाई भएको भन्दै खुसी व्यक्त गरे । फोहोरमैला व्यवस्थापनका लागि नगरपालिकाले वार्षिक समितिलाई १० लाख अनुदानस्वरुप प्रदान गर्दै आएको छ ।
सिद्धार्थनगरमा भने डण्डा छेउमा फालिँदै आएको फोहोर सर्वोच्च अदालतले त्यहाँ नफाल्न आदेश गरेपछि अहिले घरघर र बजारका चोकचौराहामा थुप्रिएको छ । व्यवस्थित योजना बनाउन नसक्दो नगरको फोहोर कहाँ फाल्ने कुनै टुंगो लागेको छैन । प्रमुख प्रशासकीय अधिकृत जनक थापाले उचित ठाउँको खोजी भइरहेको बताए ।








प्रतिकृया दिनुहोस्