गर्भवती मृत्यु प्रकरणमा दुई चिकित्सक पनि पक्राउ


बुटवल– गर्भपतनका क्रममा महिलाको ज्यान गएपछि घटनासित जोडिएका खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा. सतिष रुपाखेतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गर्भपतनका लागि विभिन्न अस्पताल र क्लिनिक धाउने क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको ज्यान गएको थियो । मृतकका पति प्रकाश पाण्डेले पत्निको मृत्युमा आर्थिक लाभ उद्देश्य राखेर चिकित्सकले लापरवाही गरेको आरोप लगाउँदैं डा. खत्री र रुपाखेतीसहित पाँचजना विरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले घटनामा जोडिएका बुटवलका दुई चिकित्सकलाई नियन्त्रणमा लिएको हो ।
यी दुई चिकित्सक बाहेक जोनल फार्मेसीका सन्ध्या बस्नेत र निलम घर्ती मगर तथा इन्दुलेखा स्वास्थ्य क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेमाथि पनि अनुसन्धान र कारवाहीको माग गर्दै जाहेरी परेको थियो । बस्नेत, घर्ती र पाण्डे मंगलबार बिहान पक्राउ परेका थिए । डा. खत्री र रुपाखेती भने मंगलबार बेलुका अबेर आफैं प्रहरी कार्यालय आएपछि नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताए ।
‘जाहेरी अनुसार तीनजनालाई पहिल्यै पक्राउ गरेका थियौं, दुई जना डाक्टर साबलाई घटनाबारे बुझ्नु छ आउनुस् भनेर फोन गरेपछि मंगलबार साँझ अबेर आफैं उपस्थित हुनभयो,’ डीएसपी श्रीवास्तवले भने, ‘घटनामा उहाँहरुको संलग्नता के–कस्तो छ त्यो अनुसन्धान पछि थप प्रक्रिया अघि बढ्छ ।’ पक्राउ परेका अन्य तीन जनालाई जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको उनले बताए ।
पाल्पाको बगनासकाली–२, ख्याहाकी पाण्डे चैत २७ गते खत्री नर्सिङ होममा करिब १२ साताको गर्भ जाँचका लागि आएकी थिइन् । त्यहाँ नर्सिङ होमका सञ्चालक खत्रीले गर्भ असामान्य छ भनी थप उपचारका लागि वैशाख ४ गते बोलाएका थिए । पाण्डे वैशाख ५ गते श्रीमान् प्रकाश सहित नर्सिङ होम आएकी थिइन् । नर्सिङ होमले गीतालाई लोकेसन म्याप दिएर बुटवल अस्पताल लाइनको जोनल फार्मेसी क्लिनिकमा पठाएको थियो ।
त्यहाँ फार्मेसीले गर्भपतनको १६ हजार शुल्क लाग्छ भन्दै २ हजार एड्भान्स लिएर दुईथरि औषधि दिएर अर्को दिन आउन भनेको थियो । जोनलबाट फेरि इन्दु लेखा क्लिनिकमा पुर्याई गर्भपतन गराउने क्रममा उनको मृत्यु भएको थियो । इन्दु लेखा क्लिनिकमा डा. सतिष रुपाखेतीले गीताको जाँच गरेको मृतकका पति प्रकाशले बताए ।
प्रकाशले गर्भपतन गराइएको भ्रुण आफूले नदेखेको भन्दै श्रीमती बेहोस् भइसकेपछि आफूलाई कुनै जानकारी नदिई लुम्बिनी सिटी अस्पतालको इमर्जेन्सी कक्षमा लैजाँदा डाक्टरले मृत घोषित गरेको बताए । रक्त सञ्चार सेवा केन्द्रकी जागिरे समेत रहेकी गीतालाई कुनै दीर्घ रोग नभएको र स्वस्थ रहेको पति प्रकाशको भनाइ छ ।
‘पैसा कमाउने उद्देश्य राखेर उपचारमा गम्भीर लापरबाही भएको छ,’ प्रकाशले भने, ‘गीताको न्याय र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आर्थिक लाभको जालोमा जोडिएर गरिएका यस्ता घटनाको निष्पक्ष छानबिन अनि कारबाही हुनुपर्छ ।’ गीता पहिलो बच्चा (छोरा) जन्मिएको ५ वर्षपछि दोस्रोपटक आमा बन्ने तयारीमा थिइन् ।








प्रतिकृया दिनुहोस्