July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

दुई पाकिस्तानीबाट १७ हजार अमेरिकी डलर बरामद

Advertisement

भैरहवा– कपिलवस्तुका दुई स्थानमा सुनका गहना चोरी आरोपमा पक्राउ परेका दुई पाकिस्तानी महिलाका श्रीमानबाट विदेशी मुद्रा बरामद भएको छ । गहना चोरी आरोपमा पाकिस्तानी नागरिक २० वर्षीया वेबी कलसुम र ४१ वर्षीया सर्वना पक्राउ परेका थिए । श्रीमती पक्राउ परेपछि नेपाल छाडेर भाग्न खोजेका पाकिस्तानी नागरिक २३ वर्षीय इर्फान अली र ४४ वर्षीय सफीउर रहमानबाट १७ हजार १३६ अमेरिकी डलर बरामद भएको छ । उनीहरु शनिबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

Advertisement

ती पुरुसबाट साउदी रियाल ३२५, बंगलादेशी टाका एक हजार ६१५, युएई दिराम ५ र मलेसियन रिंगेट १८५ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले बताए । ‘उनीहरूमाथि अनुसन्धान भइरहेको छ । प्रष्ट हिन्दी बोल्ने भएकाले संवाद सहज भएको छ,’ डिएसपी सिंहले भने, ‘तर, धेरै बोल्न मानेका छैनन् ।’

विस्तारै थप कुरा खुल्दै जाने उनले बताए । अनुसन्धानका क्रममा सुन चोरीमा उनीहरूको पनि संलग्नता देखिएको छ । श्रीमतीहरूलाई पसलमा सुन चोरी र ठगी गर्न पठाउने र बाहिर बसेर उनीहरू ‘वाच’ गर्ने गरेको प्रहरीको भनाइ छ । कतिपय अवस्थामा सुन चोरेर बाहिरीना साथ भाडाको जीप कारबाट भाग्न सहयोग गरेको पाइएको प्रहरीले जनाएको छ ।

श्रीमती पक्राउ परेपछि दुवैजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरक्षा चेकजाँच गराई बोर्डिङ पास लिएर विमानतर्फ जाँदै गर्दा पक्राउ परेका हुन् । उनीहरू एयर अरेबियाको विमानमार्फत नेपाल छाड्न लाग्दा गत शनिबार साँझ पक्राउ परेका थिए । प्रहरीले दुवैलाई सोमबार ८ दिनको म्याद लिएर अनुसन्धान गरिरेहको छ । उनीहरू चारैजना प्रहरी अनुसन्धानमा छन् । वेबी कलसुमका श्रीमान इर्फान अली हुन् । सर्वनाका श्रीमान सफीउर रहमान हुन् । सफीउर रहमान तेस्रोपटक नेपाल आएका हुन् । इर्फान अली भने पहिलोपटक नेपाल आएका हुन् ।

दुई महिलाले शिवराज नगरपालिका–५, चन्द्रौटास्थित सुरेन्द्र सुनचाँदी पसलमा सुन गरगहना खरिद गर्ने भन्दै गहना हेर्दै व्यवसायीलाई अल्मल्याई ३८ लालको एक जोडा सुनको झुम्का चोरेर भागेका थिए । त्यसअघि सदरमुकाम तौलिहवास्थित बागेश्वरी ज्वेलर्स सुनचाँदी पसलमा ती महिलाले ठगी गरेर भागेका थिए । महिला र पुरुष २४ मार्चमा काठमाडौं आएका थिए । २२ अप्रिलसम्म उनीहरूको भिसा म्याद छ ।