भष्कट र नदीजन्य पदार्थ अभावले बुटवल–गोरुसिंगे सडक निर्माण प्रभावित


भैरहवा– सम्झौता गरेर राजस्व तिरिसकेका पालिकाहरुबाट समेत नदीजन्य पदार्थ निकाल्न अनुमती नपाउँदा बुटवल–गोरुसिंगे सडक स्तरोन्नतिमा नदीजन्य पदार्थको अभाव देखिएको छ । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा काम पूरा गर्ने गरी गत असार ११ गते ठेक्का पाएका थिए ।
तर, निर्माणककै क्रममा नदीजन्य पदार्थ र भस्कट अभावले निर्माणको काम प्रभावित भएको छ । आयोजनाका अनुसार तत्काल माटो तथा भस्कटतर्फ करिब ८ लाख ९ हजार ८ सय ९१ घनमिटर र नदीजन्य पदार्थतर्फ करिब ७ लाख ४८ हजार ३८ घनमिटर सामाग्री अभाव छ ।
सडक निर्माणमा चाहिने माटो, भस्कट र नदीजन्य पदार्थको उपलब्धताका लागि बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिकाका ५ वटा वडा, कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका, तिनाउ गाउँपालिकासँग सम्झौता भएको र गैडहवामा त राजस्व बुझाएर वातावरणीय प्रभाव मूल्यांन भई परिणाम यकिन गरी निकासी गर्नै लाग्दा रोकिएको आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले बताइन् ।
सडक विस्तार हुने क्षेत्रमा ठूलो परिमाणमा माटो फिलिङ गर्नुपर्छ । तर कपिलवस्तुको कोठी नदीदेखि बुटवलको पाखापानीसम्मको खण्डमा माटो, भस्कट र नदीजन्य सामाग्रीको अभावका कारण निर्माण फिलिङको काम रोकिएको छ । आयोजनाले सबै प्रक्रियागत काम पूरा गरिसकेको तर कतिपय पालिकाले वन क्षेत्र जोडिने भन्दै निकासी गर्न नदिँदा काम रोकिएको निर्माण कम्पनीको गुनासो छ ।
निकासी सुनिश्चित भएका र तोकिएको राजस्व बुझाएका ठाउँबाट पनि वन क्षेत्र जोडिने भन्दै नदीजन्य पदार्थ निकासी गर्न नदिएपछि दैनिक सयौं कामदार कामविहीन र उपकरण प्रयोगविहीन हुने अवस्थामा पुगेको निर्माण कम्पनीका कन्ट्याक्ट म्यानेजर गौरीशङ्कर महतोले गुनासो गरे ।
यस्तै, अमेरिका–इरान युद्धले अलकत्रा समेत अभाव भएको आयोजनाले जनाएको छ । आयोजनाको अहिलेसम्म २३ प्रतिशतको हाराहारीमा मात्रै काम पूरा भएको छ । सडक विभागअन्तर्गत सञ्चालित र विश्व बैंकको करिब ३५ अर्ब रुपैयां सहयोगमा पूर्व–पश्चिम राजमार्गको यो खण्डलाई एसियाली मापदण्डमा विस्तार गरिँदैछ । ५० किलोमिटर लामो दुरीको यो सडक तत्कालीन राजा महेन्द्रको पालामा २०१९ सालमा बनेको हो ।
ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र अर्थात् २०८४ कार्तिक ३ गते सडक निर्माण सक्ने सम्झौता छ । २०८१ कात्तिक १२ देखि निर्माण व्यवसायीले काम सुरु गरेको हो ।








प्रतिकृया दिनुहोस्