रूपन्देही–४ का सांसद बनियाले प्रधानमन्त्री समक्ष पेश गरे योजना


भैरहवा– रुपन्देही–४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कन्हैया बनियाले आफ्नो निर्वाचन क्षेत्रमा तत्काल पूरा गर्नुपर्ने योजना प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पेश गरेका छन् । प्रधानमन्त्री शाह र लुम्बिनी प्रदेशबाट निर्वाचित सांसदबीच छलफलका क्रममा बनियाले आफ्नो क्षेत्रका लागि आवश्यक योजना पेश गरेका हुन् ।
रूपन्देही–४ लाई समृद्ध र विकसित तुल्याउन निर्वाचन ताका वाचा गरे अनुसारका योजना पेश गरेका हुन् । प्रधानमन्त्रीले प्रस्तुत योजना तथा कार्यक्रम तत्काल अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेको सांसद बनियाले बताए ।
प्रस्तुत योजनामा मर्चवारका लागि खरिद गरेर प्रदेशमा थन्किएको दमकल तत्काल फुकुवा गराउने, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन ल्याउने, मर्चवारी माई मन्दिरलाई राष्ट्रिय सम्पदा सूचीमा राख्ने विषयमा छलफल भएको उनले बताए ।
त्यस्तै ककरहवा कालिदह सीमा नाका सञ्चालन गर्ने, मर्चवार लिफ्ट सिंचाई योजनालाई प्रविधिमैत्री तवरले मर्मत तथा पुनः निर्माण, मर्चवार–लुम्बिनी सडक सञ्जाल निर्माण, मर्चवारमा लघु उद्यम विकास परिसरको निर्माण, छपियालाई प्रविधिमैत्री मत्स्यपालन र एकीकृत माछा पालन प्रणाली सञ्चालन गर्न प्रस्ताव गरिएको छ ।
आफ्नो निर्वाचन क्षेत्रमा सर्प दंश उपचार केन्द्रसहित २५ शय्याको प्रविधिमैत्री अस्पताल निर्माण, युवा तथा खेलकूद प्रवद्र्धनका लागि क्रिकेट एकेडेमी सहित मर्चवार रंशाला निर्माण, परम्परागत कृषि प्रणालीलाई विस्थापन गर्दै एकीकृत कृषि प्रणालीको व्यवस्थापन गर्ने छलफल तथा कार्यान्यवन गर्ने निर्णय, मर्चवारमा ४ लेन सडक निर्माणलाई प्राथमिकतामा राखिएको सांसद बनियाले जानकारी दिए ।








प्रतिकृया दिनुहोस्