August 24, 2026, Monday
२०८३ भाद्र ८ सोमबार

क्रसर गैरकानूनी रुपमा संचालन भएको भेटिए तत्काल बन्द गरिने

Advertisement

परासी– लुम्बिनी प्रदेशका अवैध क्रसर उद्योगहरू तत्काल बन्द गर्न गृह मन्त्रालयले निर्देशन दिएसँगै पश्चिम नवलपरासी प्रशासनले सक्रियता बढाएको छ । मन्त्रालयको परिपत्रपछि स्थानीय प्रशासनले जिल्लामा सञ्चालित साना तथा ठूला क्रसर उद्योगहरूमाथि निगरानी तीव्र पारेको हो ।

Advertisement

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीपकराज नेपालले जिल्लामा सञ्चालित क्रसर उद्योगहरूले कानुनी मापदण्ड पूरा गरे–नगरेको विषयमा सूक्ष्म निगरानी सुरु गरिएको जानकारी दिए ।

‘हामीले जिल्लाका सबै क्रसर उद्योगहरूको कागजात र सञ्चालन प्रक्रियामाथि निगरानी बढाएका छौँ,’ उनले भने, ‘अनुगमनका क्रममा नियमविपरीत सञ्चालन भएको पाइएमा कानुन बमोजिम तत्काल कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।’ गैरकानूनी संचालन भएकाहरु तत्काल बन्द गरिने उनको भनाई छ ।

‘द काउन्सिल अफ जेन्जी लुम्बिनी’ ले लुम्बिनी प्रदेशका १२ जिल्लामा ठूलो संख्यामा अवैध क्रसर उद्योगहरू सञ्चालन भइरहेको दाबी गर्दै गृह मन्त्रालयमा निवेदन दिएको थियो । सोही निवेदनका आधारमा गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले प्रहरी प्रधान कार्यालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई पत्र लेख्दै अवैध उद्योगहरू तत्काल बन्द गराउन आदेश दिएको हो ।

नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन र मापदण्ड मिचेर बस्ती नजिक सञ्चालन गरिएका उद्योगका कारण वातावरणीय जोखिम बढेको गुनासो आइरहेका बेला प्रशासनले देखाएको यो सक्रियतालाई स्थानीयले सकारात्मक रूपमा लिएका छन् ।

प्रशासनले अबका केही दिनमा प्राविधिक टोलीसहित स्थलगत अनुगमन गरी अनुमति नलिएका, नवीकरण नभएका र मापदण्ड मिचेका उद्योगहरूको विवरण संकलन गरी आवश्यक कदम चाल्ने तयारी गरेको छ । जिल्लामा हाल करिब एक दर्जनको संख्यामा क्रसर उद्योगहरू सञ्चालनमा छन् ।