July 12, 2026, Sunday
२०८३ असार २९ सोमबार

टोल सुधार समितिलाई आर्थिक रुपमा बलियो बनाउने योजनामा सिद्धार्थनगर

 

Advertisement

 

Advertisement

 

भैैरहवा–नगरको सरसफाइ तथा आपसी सामाजिक एकतामा महत्वपूर्ण भूमिका निभाउँदै आएका टोल सुधार तथा टोल विकास समितिहरुलाई आर्थिक रुपले बलियो बनाउदै थप जिम्मेवारी दिने योजना सिद्धार्थनगर नगरपालिकाले बनाएको छ ।

टोल तथा छर छिमेकमा उत्कृष्ट काम गर्न सफल भएका तेस्ता समतिलाई सम्मान गर्ने परिपाटीको विकास गर्ने र समितिलाई अलग्गै बजेटको व्यवस्था गरेर आर्थिक रुपमा बलियो बनाउने योजना नगरपालिकाले बनाएको हो ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले टोल सुधार तथा टोल बिकास समिति नगरपालिकाको दाहीने हात र एउटै रथका दुई पाँग्रा सरह रहेको र यस्ता समितिलाई आर्थिक रुपमा बलियो बनाउदै लगिने बताए । ‘टोल सुधार समिति तथा टोल विकास समिति गठन भइ सकृय रहेका वडाहरुले सरसफाइ, विकास निर्माण र सहनसहन अन्य वडाको तुलनामा अलग्गै पहिचान दिने गरेका छन्’ सिद्धार्थनगर नपा–९ स्थित गोलीगढ टोल सुधार समितिद्वारा आयोजित एक कार्यक्रममा बोल्दै थापाले भने, ‘समाजमा उत्कृष्ट कार्य गर्ने यस्ता समितिलाई सिद्धार्थनगर नगरपालिकाले सम्मान गर्ने परिपाटीको सुरुवात गर्ने छ ।’

वडा कार्यलयहरुलेपनि नचाहिने तथा अनुत्पादक क्षेत्रमा वडाको बजेट बिनियोजन गर्ने भन्दा आफ्नो वडामा कतिवटा टोल विकास समितिको आवश्यक पर्छ ? त्यसको  र्निक्यौल गरि समितिले टोलमा गर्न लागेका आवश्यक कामकालागि बजेट उपलब्ध गराउनु पर्ने उनले बताए ।

वडा कार्यालयहरुले वडामा रहेका स्थानीय क्लवहरुसंगै टोल सुधार तथा विकास समितिहरुलाईपनि बजेट बिनियोजन गर्नु पर्ने भनाइ उनको थियो । नगरपालिकामा सञ्चालित विकास निर्माण, सरसफाइ र नगरपालिकाको अन्य कार्यमा ऐक्यबद्धता जनाउदै प्रभावकारी बनाउन यस बर्ष देखि नगरका टोल विकास समितिहरुलाई अलग्गै बजेट उपलब्ध बनाउन पहल गरिने उनले बताए ।

उनका अनुसार, वडामा रहेका टोल सुधार तथा विकास समितिलाई आर्थिक र प्रशासनिक रुपमा सक्षम बनाएर अ–आफ्नो टोलबाट उत्पादन हुने फोहोरको व्यवस्थापन गर्नकालागि जिम्मेवार बनाउने सोंच नगरपालिकाको छ । ११ वटा वडा रहेको सिद्धार्थनगर पालिकामा पाँच–छ वटा वडामा मात्र टोल सुधार तथा टोल बिकास समिति गठन भइ क्रियाशिल छन् । गठित टोल सुधार समितिमध्ये कतिपय निस्कृय पनि छन् । सवै वडामा टोल सुधार समिति गठन गरि सकृय बनाउने योजना नगरपालिकाको छ ।

गोलीगढ टोल सुधार समितिमा नयाँ कार्यसमिति

सिद्धार्थनगरमा रहेका टोल सुधार तथा टोल विकास समितिमध्ये अग्रणी स्थानमा रहेको सिद्धार्थनगर नपा–९ स्थित गोलीगढ टोल सुधार समितिको अध्यक्षमा अनबर खानको नेतृत्वमा नयाँ कार्यसमितिको निर्बिरोध चयन भएको छ ।

समितिको चौथो बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले खानको अध्यक्षतामा ११ सदस्यीय कार्य समितिको निर्बिरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा फणिन्द्र पौडेल, सचिवमा महाशर्मा अधिकारी र कोषाध्यक्षमा साधना पहारी पंगेनी रहेका छन् ।

समितिको सदस्यहरुमा ओमराज पन्त, राजकुमार चाइ, दुर्गाप्रसाद अर्याल, राधिका पन्थी, कमल खनाल, समिति मल्ल र बुद्धि ढकाल निर्बिरोध भएका छन् । नवनिर्बाचिन अध्यक्ष खानले टोल तथा वडामा रहेका सवै संघ संस्थासंग आपसी समन्वय र सहकार्य गर्दै टोलको सरसफाइ तथा विकास निर्माण कार्यमा अघि बढ्ने बताएका छन् ।