July 12, 2026, Sunday
२०८३ असार २९ सोमबार

‘उद्योग क्षेत्रको संरक्षणका लागि तत्काल प्रभावकारी कदम चाल’

Advertisement

भैरहवा– रुपन्देही उद्योग संघले निजी क्षेत्र वर्तमान अवस्थामा धरासायी भएको भन्दै तत्काल प्रभावकारी कदम थाल्न सरकारसँग माग गरेको छ । संघका अध्यक्ष कृष्णप्रसाद पराजुली र महासचिव सुमन बस्यालले सोमबार विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् ।

Advertisement

‘हाल मध्यपूर्वका देशहरूमा जारी द्वन्द्वको प्रत्यक्ष असर नेपालका उद्योग क्षेत्रमा देखिन थालेकाले रुपन्देही उद्योग संघको ध्यानाकर्षण भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा भएको अस्वाभाविक वृद्धिका कारण रुपन्देही सहित देशभर सञ्चालनमा रहेका अधिकाश उद्योगहरू ‘सटडाउन’को अवस्थामा पुग्ने जोखिम बढेको छ’, संघले विज्ञप्तीमा भनेको छ ।

विशेषगरी प्लाष्टिकजन्य उद्योगहरूमा प्रयोग हुने कच्चा पदार्थको मूल्यमा सय प्रतिशतसम्म वृद्धि भएको र कच्चा पदार्थ सहज रूपमा उपलब्ध हुन नसक्दा उत्पादन प्रक्रिया प्रभावित भएको संघले जनाएको छ । ‘उद्योगहरू जेनतेन सञ्चालन भइरहे पनि उत्पादन लागत अत्याधिक बढेका कारण उद्योग सञ्चालन नै चुनौतीपूर्ण बन्दै गएको छ । लागत बढेसँगै उत्पादित वस्तुको मूल्य बढाउनु पर्ने बाध्यता सिर्जना भएको छ भने बजारमा माग घट्दै गएकाले उद्योगहरू थप समस्यामा परेका छन्’, विज्ञप्तीमा भनिएको छ, ‘कच्चा पदार्थको मूल्य वृद्धि मात्र नभई ढुवानी भाडा, बीमा शुल्क तथा अन्य प्रशासनिक खर्चमा समेत उल्लेख्य वृद्धि भएको छ । यसले उद्योगहरूको समग्र लागत संरचना असन्तुलित बनाएको छ ।’

लागत नियन्त्रण बाहिर जाँदा उद्योगहरू उत्पादन घटाउन बाध्य भएको र केही उद्योगहरू आंशिक रूपमा बन्द हुने अवस्थामा पुगेका जनाइएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि र आपूर्ति व्यवस्थापनमा देखिएको समस्याका कारण उद्योग क्षेत्र गम्भीर संकटतर्फ उन्मुख भएको विज्ञप्तीमा उल्लेख छ ।

‘उद्योगहरू जेनतेन सञ्चालन भइरहे पनि उद्योगहरूमा रोजगारीमा रहेका हजारौं श्रमिकहरूको व्यवस्थापन गर्न चुनौती थपिएको छ । उत्पादन घट्दै जाँदा रोजगारीमा प्रत्यक्ष असर पर्ने जोखिम बढेको छ । उद्योग बन्द हुने अवस्थामा पुग्दै गर्दा यसको प्रभाव श्रमिक, आपूर्ति श्रृंखला, ढुवानी व्यवसाय, बैकिङ्ग तथा समग्र आर्थिक गतिविधिमा पर्ने निश्चित रहेकोले यसमा सरकारको तत्काल ध्यान जान जरुरी छ’, विज्ञप्तीमा भनिएको छ, ‘हाल कच्चा पदार्थको आपूर्ति समस्याले समग्र बजारमा अत्याधिक मूल्यवृद्धि बढ्दै गएको छ । यस्तो अवस्थामा नियमनकारी निकायको प्रभावकारी अनुगमन आवश्यक देखिएको छ । अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न तथा आपूर्ति व्यवस्थापन सहज बनाउन सम्बन्धित निकायले तत्काल आवश्यक पहल गर्नुपर्ने अवस्था देखिएको छ ।’

उद्योग क्षेत्रलाई जोगाउन सरकारले तत्काल आवश्यक कदम चाल्न अनुरोध गरिएको छ । कच्चा पदार्थ आयातमा सहुलियत, ढुवानी लागत नियन्त्रण, बैंक ब्याजदरमा राहत तथा उद्योग सञ्चालनका लागि आवश्यक वित्तीय सहुलियत उपलब्ध गराउन जरुरी रहेको संघले विज्ञप्ती मार्फत् जनाएको छ । साथै विद्युत् महसुल तथा अन्य सेवा शुल्कमा अस्थायी राहत उपलब्ध गराउन सरकारको ध्यान जान अपरिहार्य रहेको बताइएको छ ।

उद्योग क्षेत्र देशको आर्थिक मेरुदण्ड भएकोले उद्योगहरू बन्द हुँदा राजस्व संकलन घट्ने, बेरोजगारी बढ्ने तथा समग्र आर्थिक गतिविधि प्रभावित हुने बताइएको छ । ‘यस्तो अवस्थामा उद्योग क्षेत्रको संरक्षणका लागि सरकार, सम्बन्धित निकाय तथा निजी क्षेत्रबीच समन्वय गर्न र गराउन अनुरोध गर्दै हामी त्यसका लागि तयार रहेको जानकारी गराउँदछौं । वर्तमान चुनौतीपूर्ण परिस्थितिमा उद्योग क्षेत्रको संरक्षणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकार तथा सम्बन्धित निकायसँग जोडदार आग्रह गर्दै उद्योग क्षेत्रलाई जोगाउन सकिए मात्र रोजगारी, उत्पादन र समग्र अर्थतन्त्रलाई सन्तुलित राख्न सम्भव हुने विश्वास राखेका छौं’, विज्ञप्तीमा भनिएको छ ।