June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

भैरहवामा निःशुल्क कृत्रिम हातखुट्टा वितरण शिविर हुँदै

Advertisement

भैरहवा– नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको आयोजना र मारवाडी सेवा समिति, भैरहवाको सहयोगमा यहीँ फागुन ७, ८ र ९ गते निःशुल्क कृत्रिम हातखुट्टा वितरण शिबिर संचालन हुने भएकोछ छ । दुर्घटना लगायत विभिन्न कारणबाट हातखुट्टा गुमाएर लामो समयदेखि बसेका व्यक्तिलाई सहयोग प्रदान गर्न शिबिर आयोजना गर्न लागिएको हो ।
मारवाडी युवा संगठनले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी निःशुल्क शिविरबाट लाभ उठाउन सम्बन्धित व्यक्तिहरुलाई आह्वान गरेको छ । आयोजक संस्थाका अनुसार शारीरिक रुपमा अक्षम नागरिकहरुको कृत्रिम अंग निर्माणका लागि प्राविधिकले नापजाँच गरेपछि सहयोग प्रदान गरिनेछ ।

Advertisement

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका अध्यक्ष मनोजकुमार अग्रवालले आफ्नो संस्थाले विगत लामो समयदेखि मुलुकका विभिन्न सहरमा यस्तो सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिए । त्यसैले यसपटक पनि यस्तो सहयोग आवश्यक परेका व्यक्तिलाई सम्पर्क गर्न उनले अनुरोध गरेका छन् ।

आफ्नो संगठनका २६ शाखा रहेको उल्लेख गर्दै सबै शाखा मानवीय सेवामा समर्पित रहेको बताए । ‘पश्चिम धनगढीदेखि पूर्व बिर्तामोडसम्म मारवाडी युवा संगठनहरुले यस्ता सामाजिक क्रियाकलाप सञ्चालन गरिरहेका छन्,’ उनले भने, ‘सहयोग आवश्यक भएका मानिसलाई सघाउँदैं आएका छौं ।’ उनका अनुसार फागुन ७ गते भैरहवास्थित मारवाडी सेवा समितिको भवनमा प्राविधिकहरुले हातखुट्टा गुमाएका व्यक्तिहरुको नाप लिने छन् ।

त्यस्तै फागुन ८ गते नापजाँच अनुसार कृत्रिम हातखुट्टा तयार गरेर ९ गते सम्बन्धित व्यक्तिहरुलाई वितरण गरिनेछ । यसअघि लाहान र बिर्तामोडमा यस्तो कार्यक्रम भइसकेको उनले बताए । भैरहवामा तेस्रोपटक निःशुल्लक कृत्रिम हातखुट्टा वितरण शिविर आयोजना गर्न लागिएको हो । अहिलेसम्म ३ सय भन्दा धेरैलाई यस्तो सहयोग गरिसकेको अग्रवालले बताए । यसपाली भैरहवामा कम्तिमा ५० जनालाई कृत्रिम हातखुट्टा प्रदान गरिने उनको भनाई छ ।

‘यदि धेरै जना आउनु भयो भने एक सयलाई पनि सहयोग गरिनेछ,’ उनले भने, ‘हाम्रो सहयोगमा कुनै कमी हुने छैन ।’ उनले हालसम्म कृत्रिम हातखुट्टाका लागि २५ जनाले नाम टिपाएको जानकारी दिए ।

मारवाडी सेवा समितिका सचिव हरिश सेठियाले भैरहवामै तेस्रोपटक यस्तो कार्यक्रम आयोजना गर्न लागिएको जनाए । अहिले कार्यक्रम सफल बनाउन दाता र सहयोगी जुटिरहेको उनको भनाई छ । ‘सबैले आर्थिक सहयोग गरिरहनु भएको छ,’ उनले भने, ‘हाम्रो उद्देश्य सेवा मात्र हो ।’ कार्यक्रमलाई सफल बनाउन मारवाडी युवा मञ्च र मारवाडी महिला मञ्च भैरहवाले पनि सहयोग गरिरहेका छन् । संगठनले कृत्रिम हातखुट्टा शिविरका लागि यज्ञराज अग्रवाललाई राष्ट्रिय संयोजक र मनोज सिंघललाई स्थानीय संयोजक तोकेर तयारी गरिरहेको जनाएको छ । आयोजक मारवाडी युवा संगठनले कृत्रिम हातखुट्टा आवश्यक भएमा ९८४७०२३६३०, ९८०६९५०१६९ र ९८५७०४९१७९ नम्बरमा सम्पर्क गरी नाम दर्ता गर्न अनुरोध गरेको छ ।