जेनजी भावना र पार्टीको परिवर्तित नीति बुझाउँदै भोट माग्दै हिराबहादुर खत्री


भैरहवा– नेपाली काँग्रेसबाट रुपन्देहीे–१ का उम्मेदवार हिराबहादुर खत्रीले आफ्नो क्षेत्रमा मतदातासित भेटघाटका क्रममा घोषणा र प्रतिवद्धताको सूची सुनाउँदैंनन् । बरु पार्टीले गरेका राम्रा कामको फेहरिस्त सुनाउँछन् । साथै अतितका कमिकमजोरी र त्रुटीलाई लिएर आत्मालोचना गर्छन् ।
बिगत भुलेर सुन्दर आगत निर्माणमा जोड दिन्छन् । गत भदौं २३ र २४ गते मुलुकमा भएको जेनजी आन्दोलनको भावना र करिब एक महिना अघि सम्पन्न नेपाली काँग्रेसको विशेष महाधिवेशन पछि पार्टीमा आएको परिवर्तनबारे बुझाउँदैं उनले भोट मागिरहेका छन् । काँग्रेसको इतिहास बुझ्नेलाई पार्टी फेरिएको सन्देश दिन्छन् । युवा सामू नेपाली काँग्रेस नयाँ बनेकाले आगामी दिनमा गल्ती कमजोरी नगरी जेनजी पुस्ताको भावना अनुसारको मुलुक निर्माण गर्न प्रतिवद्ध रहेको बताउँछन् ।
‘काँग्रेसको बिगतलाई हेरेर गौरवान्वित हुने क्षण धेरै छन्,’ उनले भने, ‘आठ दशक लामो इतिहास बोकेको पार्टीका क्रियाकलापमा पछुताउनु पर्ने क्षण थोरै छन् ।’ बिगतमा भएका कमिकमजोरीलाई पार्टीले आत्मसात् गरेर अगाडि बढिरहेको उनले बताए । फागुन २१ गतेको चुनाव जनप्रतिनिधिले नभई भदौं २३ र २४ गतेको घटनापछि बनेको सरकारले गराउन लागेको उनले बताए ।
‘भदौंको घटनाबारे तत्कालीन महामन्त्रीले बोध गरेर आफ्नो भनाई राखि सक्नु भएको छ,’ उनले भने, ‘विशेष महाधिवेशनपछि सभापति निर्वाचित गगनकुमार थापाले अब पार्टीले भदौं २३ को घटनाको सन्देशलाई काम, व्यवहार, वाचा र सही ढंगले आत्मसात् गरेर अघि बढ्ने प्रतिवद्धता जनाइसक्नु भएको छ ।’ बिगतमा परिवर्तनको भावना बुझ्न नसक्दा जनतामा निराशा र आक्रोश बढेका कारण जेनजी आन्दोलन भएको उनले बताए । ‘नेपाली काँग्रेसले आफ्नो हिस्सामा पर्ने गल्ती बोध गरिसकेको छ,’ उनले भने, ‘त्यसैले यसपटक चुनावी मैदानमा नयाँ काँग्रेस छ ।’
नेतृत्वले समस्याको उठान मात्र गर्ने नभएर समाधान पनि साथमै लिएर हिंड्ने गरेको उनले बताए । ‘समस्या पहिचान गर्ने र त्यसको समाधान गर्नेलाई मात्र सही नेतृत्व मानिन्छ,’ उनले भने, ‘आज सुशासनका पक्षमा, पारदर्शिताका लागि भ्रष्टाचार अन्त्य गर्न दण्डित गर्ने सन्दर्भमा आम नागरिकले महशुष गर्नेगरि नेपाली काँग्रेस नयाँ नीति आत्मसात् गरेर आएको छ ।’ परिवर्तनको संकल्पसहित नेपाली काँग्रेस जनताको घरदैलोमा आएकाले त्यही सन्देश हामीले युवाहरु माझ दिनुपर्ने उनले बताए ।
लामो समयदेखि दलहरुले सत्ता प्राप्तीका लागि जो सित पनि हातेमाले गर्ने, जस्तोसुकै सम्बन्ध पनि स्थापित गर्दै आएको उल्लेख गर्दै जसले गर्दा आम मतदाता र आम तरुण रिसाएको उनले बताए । ‘यस्ता बिकृति अन्त्यका लागि पनि नेपाली काँग्रेसले आफ्नो नीतिमा परिवर्तन ल्याएको छ,’ उनले भने, ‘विभिन्न कारणले नीति निर्माण तहमा पुग्न नसकेकालाई संसदमा पुर्याउन हामीले समानुपातिक प्रणाली अपनायौं । बिगतमा हामीले चिनेका व्यक्तिमात्र समानुपातिकबाट सांसद बनायौं । ती मान्छे मात्र दोहोरिए भन्ने गुनासो छ ।’
त्यो गुनासो समाधान गर्न काँग्रेसको अहिलेको नीतिले एक व्यक्ति एक पटक समानुपातिक सांसद, एकै व्यक्ति दुई पटक भन्दा धेरैपटक प्रधानमन्त्री हुन नपाउने, तीन पटक भन्दा बढी मन्त्री हुन नपाउने र चार पटक भन्दा बढी संसदको टिकट नपाउने व्यवस्था गरेको जनाए । ‘नयाँ नीतिले सबैका गुनासा सम्बोधन गरेको छ,’ उनले भने, ‘त्यसैले फेरिएको काँग्रेसबारे बुझाउँदैं भोट माग्नु छ । युवाको मन जित्नु छ ।’ उनले क्षेत्रगत विकास आफ्नो प्राथमिकता भएको जनाए ।








प्रतिकृया दिनुहोस्