June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

प्रदेशलाई जनउत्तरदायी बनाउन सरकार दृढ छः मुख्यमन्त्री आचार्य

Advertisement

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयता सवलिकरणका लागि लुम्बिनी प्रदेशबाट सफल अभ्यास भएको बताएका छन् । प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र जनउत्तरदायी बनाउने दिशामा सरकार दृढताका साथ अघि बढिरहेको उनले उल्लेख गरे । बुधबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार गठन भएयता संविधानले प्रदेशलाई प्रदान गरेका एकल तथा साझा अधिकारको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक ऐन, कानुन र नीतिगत व्यवस्था निर्माण गरिएको उनले उल्लेख गरेका छन् ।

Advertisement

संघीयताको औचित्य व्यवहारमा देखिने गरी नीतिगत सुधार, भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन र कृषि लगायत सामाजिक तथा आर्थिक क्षेत्रको सन्तुलित विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राख्दै आएको उनले बताए । संविधानको पूर्ण पालना र संरक्षणका विषयमा संघीय सरकारको ध्यानाकर्षण गराउँदै प्रदेश सरकारले सक्रिय भूमिका निर्वाह गर्दै आएको उनको भनाइ छ ।

संघीय संरचनाको सम्मान, अधिकारको व्यवहारिक कार्यान्वयन र स्रोतसाधनको सुनिश्चितताका लागि लुम्बिनी प्रदेश सधैं स्पष्ट र दृढ रहेको उनको सन्देशमा उल्लेख छ । प्रदेश सरकार स्थापना भएदेखि नै सुशासन, पारदर्शिता र भ्रष्टाचारको अन्त्यलाई कार्यसम्पादनको मूल आधार बनाइएको आचार्यले बताएका छन् ।

चालु खर्च नियन्त्रण गर्दै पुँजीगत खर्च बढाउने नीतिलाई कडाइका साथ कार्यान्वयन गरी विकास आयोजना अघि बढाइएको सन्देशमा उल्लेख छ । संघीयताको सवलिकरण र औचित्य व्यवहारमा उतार्दै प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र जनउत्तरदायी बनाउने दिशामा सरकार अझ दृढताका साथ अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज, कर्मचारी तथा नागरिकको सहकार्य र सकारात्मक भूमिकाको अपेक्षा गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी प्रदेश निर्माणका लागि साझा प्रयास अपरिहार्य रहेको बताएका छन् ।

सरकारले स्थापना दिवस मनाउन आज प्रदेशभर सार्वजनिक बिदा पनि दिएको छ । प्रदेश सरकार र प्रदेश सभाले स्थापना दिवसको अवसरमा बुधबार देउखुरीमा मूल समारोह आयोजना गर्दैछन् । ०७४ माघ २१ मा प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई स्थापना दिवस मनाउने गरिएको छ ।