July 26, 2026, Sunday
२०८३ श्रावण १० आईतवार

बाँकेमा थपिए एक बर्षमा ८० जना एचआइभी सङ्क्रमित

Advertisement

भैरहवा–बाँके जिल्लामा गत एक वर्षको अवधिमा ८० जना नयाँ एचआइभी सङ्क्रमित थपिएको पाइएको छ । स्वास्थ्य कार्यालय बाँकेका एचआइभी फोकलपर्सन रविन्द्रकुमार साहका अनुसार गत आर्थिक वर्ष २०८१–८२ मा ८ हजार ६ सय ९७ जनामा गरिएको परीक्षणबाट ८० जना नयाँ एचआइभी सङ्क्रमित फेला परेका हुन् ।

Advertisement

बाँके पश्चिम नेपालको नेपाल–भारत सीमानासँग जोडिएको जिल्ला हो । गत आवमा ‘प्रिभेन्सन अफ मदर–टु–चाइल्ड ट्रान्समिसन’ कार्यक्रम अन्तर्गत बाँकेमा २८ हजार २ सय ३४ जना गर्भवती महिलाको एचआइभी परीक्षण गरिए पनि कुनै नयाँ सङ्क्रमित नदेखिएको साहले जनाएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार एचआइभी नियन्त्रणका लागि स्थानीय सरकारले अझ संवेदनशील र जिम्मेवारीपूर्वक अघि बढ्नु पर्ने आवश्यकता देखिएको छ । सुइद्वारा लागुपदार्थको सेवन गर्ने दुव्र्यसनीहरु, यौनकर्मी, जेलमा रहेका कैदीहरू, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गीहरू र रोजगारीका लागि विदेश जानेहरू नेपालमा एचआइभी सङ्क्रमणको उच्च जोखिममा पर्ने गरेका छन् ।
जसमध्ये, सुईद्वारा लागु पदार्थ प्रयोग गर्नेहरू र पुरुष समलिङ्गी यौनकर्मीमा सङ्क्रमणदर अन्य जोखिम समूहभन्दा उच्च रहेको पाइएको छ ।

नेपलगञ्जस्थित भेरी अस्पतालमा हाल ६ सय १३ जना एचआइभी सङ्क्रमितले नियमित रूपमा एआरटी सेवा लिइरहेका छन् । एचआइभी परिक्षण नभएका तथा परिक्षण गरिएपनि सरकारी तथ्याङकमा नआएको संक्रमितको संख्या धेरै रहेको अनुमान गरिएको छ ।