‘संगठनको नीतिअनुरुप कुनै प्रभावमा नपरी काम गरिरहेका छौं’

भैरहवा– सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, डण्डा, रुपन्देहीले पछिल्लो समय कार्यालय र कर्मचारीलाई जोडेर प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । कार्यालय प्रमुख डीएसपी रन्जन बुढाथोकीले आइतबार पब्लिक कुरालाई खण्डन पठाउँदै समाचारप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।
पब्लिक कुराले शुक्रबार ‘सशस्त्र डण्डाको पैसा असुल्ने अनौठो तरिकाः सामान बरामाद गर्दै बेच्दै’ र शनिबार ‘सशस्त्र डण्डाले रातिमा आफ्नै गेट अगाडिबाट गराउँछ खुलेयाम तस्करी’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । डीएसपी बुढाथोकीले पब्लिक कुराको मेलमा पठाएको खण्डनमा भनिएको छ, ‘यहाँको संचारमाध्यममा प्रकाशित समाचारहरुप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ, समाचारमा उल्लेख भए अनुसार हामीले कुनै पनि गैरकानूनी काम नगरेको स्पष्ट पार्न चाहान्छौ । संगठनको शुन्य सहनशिलताको नीति अनुरुप हामीले पनि हाम्रो क्षेत्रभित्र कुनै दवाब, प्रभाव, लोभलालचमा नपरि सीमामा हुने चोरीतस्करी नियन्त्रणका लागि अहोरात्र खटिएका छौं ।’
खण्डनमा दिनहुँजसो अबैध रुपमा भित्रिएका मालसमानहरु पक्राउ गरि भन्सार बुझाई रहेका जनाइएको छ । जुनकुरा भन्सार तथ्याङ्कमा समेत हेर्न सकिने उल्लेख छ । ‘शुन्य सहनशिलता अपनाएर काम गर्दा सीमामा अवैध काम गर्नेहरुलाई पक्कै पनि असर परेको होला, त्यस्ता समूहले संगठनलाई अनावश्यक आक्षेप लगाउनु र हाम्रो मनोवल गिराई आफूले फाइदा उठाउन खोज्नु उनीहरुका लागि स्वभाविक होला । तर हामी हाम्रो कामकर्तव्यप्रति कत्ति पनि बिमुख हुन सक्दैनौं’, खण्डनमा भनिएको छ ।
खण्डनमा अवाञ्छित गैरकानूनी काम गर्नेहरुले फिंजाउन सक्ने नकारात्मक हल्लाहका पछाडी नलाग्न सम्पूर्णलाई आग्रह गरिएको छ । ‘यहाँको लोकप्रिय संचारमाध्यामबाट समाचार प्रकाशित गर्दा सत्यतथ्य बुझेर मात्र प्रकाशित गर्नका लागि समेत आग्रह गर्दछौं’, खण्डनमा भनिएको छ ।
यस्तो छ खण्डन
नोटः सशस्त्रले गलत नगरेको जनाए पनि पब्लिक कुरामा प्रकाशित समाचार र यसका स्रोतप्रति हामी अडिग र विश्वस्त छौं ।
–सम्पादक
प्रतिकृया दिनुहोस्