तोडफोड र आगजनीमा संलग्नलाई कारवाही गर्न बर्दघाटमा छानबिन समिति

भैरहवा– जेनजी आन्दोलनको क्रममा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा भएको तोडफोड र आगजनीका घटनामा संलग्न जनप्रतिनिधि र कर्मचारीमाथि छानबिन गरि कारवाही गरिने भएको छ ।
नगरपालिकामा र नगरका जनप्रतिनीधिको घरमा तोडफोड र आगजनीका घटनामा नगरपालिकाकै केही कर्मचारी र जनप्रतिनिधिको संलग्नता रहेको भन्ने कुरा आउन थालेपछि यस बारेमा छानबिन सहितको कारवाही गरिने भएको हो ।
बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले यस घटनामा छानबिन गर्नका लागि नगरप्रमुख शम्भुलाल श्रेष्ठको संयोजकत्वमा कानुनी सल्लाहकार समेतको ७ सदस्य सदस्यीय छानबिन समिति बनाइएको बताए ।
‘यस वारेमा बुधवार नगरपालिकाको कार्यपालिका बैठकले छानबिन समितिको गठन गर्ने निर्णय बमोजिम छानबिन समितिको गठन भएको छ’, पौडेलले पब्लिक कुरासँग भने, ‘उनीहरु संलग्न रहे–नरहेको भन्ने वारेमा सिसीटिभीको फुटेज, सोधपुछ लगायतका छानबिनका प्रक्रिया अपनाउने छ र प्रमाणित भएमा कानुन बमोजिम कारवाही अघि बढाइने छ ।’
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा बर्दघाट नगरपालिकाको कार्यालय, नगरपालिका मातहतकै भूमि आयोगको कार्यालय, वडा नम्बर ४ र १० को कार्यालय सहित नगरप्रमुख र उपप्रमुखको घरमा समेत तोडफोड र आगजनी भएको थियो ।
उक्त तोडफोडमा नगरपालिकाकै करारमा कार्यरत एकजना कर्मचारी र एकजना वडा सदस्य स्तरका जनप्रतिनिधिपनि संलग्न रहेको भन्ने बाहिर आउन थालेपछि नगरपालिका बैठकले छानबिन समिति गठन गरेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्