September 18, 2025, Thursday
२०८२ आश्विन २ बिहीबार

नेपाल– भारत ओहोर दोहोर गर्नेको अभिलेख राखिँदै

बर्दिया– जिल्लाबाट नेपाल–भारत ओहोरदोहोर गर्नेको सशस्त्र प्रहरीले सीमा स्थलमा अभिलेख राख्न थालेको छ । सशस्त्र प्रहरी बल नम्बर ३१ गणले यसरी सीमापार आउजाउ गर्नेको अभिलेख राख्न थालेको हो । मुलुकमा जेन–जी आन्दोलपछि अवस्था सामान्य भइसक्दा समेत सशस्त्र प्रहरीले जिल्लास्थित नेपाल–भारत सीमा नाका थप कडाई गर्न थालेको हो ।

Advertisement

सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले भारतबाट आउनेलाई जिल्ला प्रवेश गर्नुको कारण, कसलाई भेटघाट गर्ने, कहाँ जाने, कहिले फर्किने ? लगायत सोधेर प्रवेशको अनुमति दिने गरिएको बताए । यस बाहेक अपरिचित यात्रुलाई बर्दियामा भएका आफन्तको जिम्मामा आउजाउ गर्ने व्यवस्था मिलाइएको छ ।

जेन–जीको आन्दोलनका क्रममा कारागारबाट फरार अभियुक्तलाई पक्राउ गर्न र नेपालमा आपराधिक तत्व प्रवेश नगरुन् भन्दै नाकामा कडाई गरिएको शाहीले बताए । आन्दोलनका नाममा आगजनी, लुटपाट र तोडफोड गर्ने फरार भएकालाई खोजी गर्न सीमा नाकामा कडाई गरिएको उनले जनाए । भारतीय सीमा नाकामा एसएसबीले पनि सुरक्षा व्यवस्था कडा पारेको छ ।