जेनजी आन्दोलनको आडमा परिवर्तनमाथि धावा बोलिँदैछः सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘जेनजी’ आन्दोलनको आडमा राजनीतिक दलले ल्याएका उपलब्धि केही होइनन् भन्ने भाष्य सिर्जना गर्ने दुष्प्रयास भइरहेको बताएका छन् । बिहीबार (असोज २) गणेशमान सिंहको २८औँ पुण्यतिथिमा आयोजित स्मृतिसभामा उनले यस्तो बताएका हुन् ।
प्राप्त गरेका अधिकार सुरक्षित राख्दै त्यसलाई संस्थागत गरेर आमनेपाली जनताको चाहनाअनुसार काम गर्नुपर्ने जिम्मेवारी रहेको उनले उल्लेख गरे । उनले जेनजीको प्रदर्शनको आडमा कोइराला निवास, कृष्णप्रसाद भट्टराईको आश्रम, सिंहदरबार, संसद् भवनलगायत सरकारी सम्पत्तिमा आगजनी गरिएको भन्दै यसको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे ।
लोकतन्त्रमाथि खेल्ने काम नगर्न पनि उनले चेतावनी दिए । यसमा सरकार र राजनीतिक दल सतर्क हुनुपर्नेमा उनले जोड दिए ।
“…विराटनगरमा कोइराला निवास जल्ने, काठमाडौंमा चाक्सीबारी जल्ने, कृष्णप्रसाद भट्टराईजीको आश्रम जल्ने, यसले के देखाएको छ भने जेनजीको आन्दोलनको कभरअपमा यहाँ दल र दलले गरेको कन्ट्रिब्युसन केही होइन भनेर मेट्नको लागि दुष्प्रयास गरिरहेको छ,” उनले भने, “यसमा राम्रोसँग छानबिन गरेर यो अन डेमोक्रेटिक प्रोसेसहरू जसले यहाँ खेल्न प्रयास गरिरहेका छन्, त्यसमा सरकार अलर्ट हुनुपर्छ ।”
नेता सिंहले लोकतन्त्रात्मक पद्धतिमा जनताले चित्त नबुझाएका विषय सुधार गरेर राजनीतिक दल अघि बढ्नुपर्ने बताए । वर्तमान परिस्थितिबाट देशलाई माथि उकास्न अबका दिनमा कांग्रेसले नेतृत्व लिएर अघि बढ्ने उनको भनाइ थियो ।
जनतालाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्ने सन्देश हालको आन्दोलनले दिएको उनले टिप्पणी गरे ।
प्रतिकृया दिनुहोस्