रास्वपाबाट उमेदवारी दिने कन्हैयाको घोषणा


भैरहवा– लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएका कन्हैया बानियाँले अबको राजनीतिक यात्रा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अगाडि बढाउने भएका छन् । रुपन्देहीको निर्बाचन क्षेत्र नम्बर ४ (१) बाट निर्बाचित लुम्बिनी प्रदेश सभा सदस्य बानियाँले पदबाट राजीनामा दिएको भोलिपल्ट सोमबार भैरहवामा पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो राजनीतिक यात्रा रास्वपाबाट सुरु गर्ने उद्घोष गरेका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्बाचनका लागि आफूले रुपन्देहीको निर्बाचन क्षेत्र नम्बर ४ बाटै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिने उनले बताए । यस अघि उनी लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्बाचित भएका थिए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ क्रान्तिको रुपमा अघि बढेको छ र यो क्रान्तिलाई रुपन्देहीको मर्चवार क्षेत्रबाट पनि नयाँ उचाइमा पुर्याउनका लागि युवा नेतृत्वको उदय हुँदैछ’, पत्रकार सम्मेलनमा उनले भने, ‘नेपालको भावी प्रधानमन्त्री बालेन साहलाई बनाउन सहयोग पुर्याउन मेरो रास्वापाबाट उम्मेदवारी हुने छ ।’ रुपन्देही–४ बाट आफूलाई उम्मेदवारीको टिकट रास्वपाबाट पाउने टुँगो लागिसकेको दाबी गर्दै उनले मंगलवार रुपन्देहीको मझगाँवामा मध्यान्ह १२ बजे उम्मेदवारी दिने जनाए । प्रदेश संरचना बलियो बनाउने भूमिका आफ्नो रहने पनि उनले जनाए ।
जेनजी आन्दोलनको मर्म अनुरुप भ्रष्टाचारमुक्त नेपाल र रुपन्देहीको मर्चवार क्षेत्रलाई सुन्दर र समृद्ध बनाउने अभियानमा आफू लागेको उनले बताए । लोकतान्त्रिक समाजबादी पार्टीबाट एउटै व्यक्तिलाई पटक पटक मन्त्री बनाउने गरिएको रोष उनले प्रकट गरे । तर, पटक पटक मन्त्री बनाइएको व्यक्तिको नाम भने उनले बताएनन् । पार्टीबाटै मर्चवारको विकास हुन नदिएको उनले जनाए । आफू निकै पीडित र दुखी भएको जनाए ।








लेखकको सम्वन्धमा