October 8, 2025, Wednesday
२०८२ आश्विन २२ बुधबार

नौ महिनामा लुम्बिनीमा आए साढे ७ लाख पर्यटक (भिडिओ रिपोर्टसहित)

भैरहवा– बुद्ध जन्स्थल लुम्बिनी सन् २०२५ को नौ महिनामा करिब साढे ७ लाख पर्यटकले भ्रमण गरेका छन् । लुम्बिनी विकास कोषको तथ्यांक अनुसार जनवरीदेखि सेप्टेम्बरसम्म नौं महिनामा ७ लाख ४१ हजार ५७८ नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेका हुन् ।

Advertisement

कोषका सूचना अधिकारी हरिध्वज राईका अनुसार यो अवधिमा भारतीय १ लाख ८६ हजार ४४२ जनाले लुम्बिनी घुमेका छन् । यस्तै, नेपाली ४ लाख ८२ हजार ६२६ जना र तेस्रो मुलुकका (पासपोर्ट होल्डर) ७२ हजार ५१० पर्यटक लुम्बिनी आएका छन् । विकास कोषका अनुसार सन् २०२५ को नौ महिनामा भारतबाहके ९८ देशका पर्यटकले लुम्बिनी घुमेका छन् । राईका अनुसार यस वर्ष गत वर्षभन्दा पर्यटकको संख्या घट्ने देखिएको छ । सडक संजाल, विभिन्न मुलुकमा भइरहेको द्वन्द्व लगायतले पर्यटक आगमन प्रभावित हुने देखिएको छ । ‘खासगरी नेपालका सडक संजालका कारण पनि आन्तरिक र बाह्य पर्यटक आगमन कमी हुने देखिएको छ’, उनले भने ।

लुम्बिनी भ्रमणमा आएका चिनियाँ पर्यटक जियाओ यान इष्टिग्सले लुम्बिनी उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताए । उनले लुम्बिनीको शान्त वातावरणले आफूजस्ता धेरै चिनियाँहरुलाई लोभ्याउने गरेको जनाए । ‘निकै खुशी छु, पवित्र ठाउँमा घुम्न पाएँ’, उनले भने, ‘यो विश्वकै उत्कृष्ट गन्तव्य हो । जहाँ शान्ति, करुणा र मैत्रीभाव उजागर हुन्छ ।’

कोषका अनुसार २०२५ मा सबैभन्दा बढी श्रीलंकाका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । श्रीलंकाका २२ हजार ५०१ लुम्बिनी आउँदा थाइल्याण्डका १२ हजार ७७८ आएका छन् । यस्तै, म्यानमारका ८ हजार ५०६, चिनियाँ ६ हजार ९५१, भियतनामका ४ हजार ९९६ र दक्षिण कोरियाका २ हजार ६८४ पर्यटकले लुम्बिनी घुमेका छन् ।

सन् २०२४ मा ११ लाख ७२ हजार २८२ पर्यटक लुम्बिनी भ्रमणमा आएका थिए । उक्त वर्ष नेपाली ७ लाख ५९ हजार ९९०, भारतीय ३ लाख ८८९ जना र तेस्रो मुलुकबाट ११० देशबाट १ लाख ११ हजार ४०३ जनाले लुम्बिनी भ्रमण गरेको कोषको तथ्यांक छ । चालु वर्षको ३ महिनामा गत वर्षजति पर्यटक आउन अझै ४ लाख ३० हजार बढी पर्यटक लुम्बिनी भ्रमणमा आउनुपर्छ । अक्टोबरदेखि पर्यटकको सिजन सुरु भएकाले गतवर्ष जति पर्यटक आगमन हुने विश्वास लिइएको राईले जनाए ।

पोखराबाट लुम्बिनी भ्रमणमा आएका सुभाष पौडेलले लुम्बिनी जस्तो ऐतिहासक स्थल घुम्न पाउँदा निकै खुशी लागेको बताए । ‘लुम्बिनी शान्त छ, मनोरम र सुन्दर दृश्यावलोकन गर्न पाइन्छ’, उनले भने, ‘अन्तर्राष्ट्रियस्तरमा अझै प्रचारप्रसार गर्न सके धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सकिन्छ जस्तो मलाई लाग्छ ।’ उनले लुम्बिनी घुम्नका लागि सम्पूर्ण नेपालहरुलाई आग्रह समेत गरे ।