ठेलाको भरमा अडिएको जिन्दगी

भैरहवा– आर्थिक समृद्धि र जनताको गरिबी हटाउने भन्दै धेरैपटक आन्दोलन भए । राजनीतिक व्यवस्था परिवर्तन भए । आँफूलाई गरिब जनताको प्रतिनिधि भन्दै पटक पटक नेताहरु सत्तामा पुगे । तर, सत्तामा पुगेपछि गरिब जनताको बारेमा कुनै मतलव गरेनन् । आफ्नै स्वार्थ पुरा गर्नमा लागे ।
अहिले मुलुकमा तीन तहको सरकार छ । तीनै तहका सरकारले गरिबी निवारण र आर्थिक समृद्धिको सपना र आश्वासन जनतामाझ बाँड्न छाडेका छैनन् । सामान्य काम गर्दा पनि फोटो खिचाएर भाषण र प्रचारबाजी गर्दै जस लिन पछि पर्दैनन् । वडा तहदेखि प्रदेश सरकारसम्म स्वरोजगार बनाइ गरिबी निवारणको नाममा आफू अनुकुलका विभिन्न योजना ल्याएर पैसा कमाउने दाउमा जनप्रतिनिधि देखिएका छन् ।
तर, गरिबको अवस्था उस्तै छ । सामान्य नागरिकलाई साँझ बिहान हातमुख कसरी ? भन्ने समस्याले पिरोलिरहेको छ । यस्तै निम्न बर्गका नागरिकमध्येका एक हुन्, सिद्धार्थनगर–६, गल्लामण्डिस्थित भैयाटोलका ३० वर्षीया राजेश केवट । गरिबीसँग जुध्दै परिवारको दैनिक गुजारा चलाउनका लागि मिहनत र संघर्ष गर्ने आम नेपाली जनताको एउटा प्रतिनिधि पात्र हुन्, राजेश ।
बर्षाको झरी होस वा हिउँदको कठ्याग्रिँने चिसो । केवट हरेक दिन ठेला गुडाउँदै सडकमा निस्किन्छन् । ठेलामा व्यापार गरेर दैनिक घर खर्च जुटाउन । आफ्नो सन्ततिको भविष्य निर्माणका लागि । ‘परिवारको जिविकोपार्जन गर्ने माध्यम नै ठेलाको व्यापार हो’, केवट भन्छन्, ‘यही ठेलाको व्यापारबाट मैलै ६ जना परिवारको गुजारा चलाउनुपर्छ ।’
उनको ठेलाको व्यापार पुख्र्यौली पेशा हो । जिविकोपार्जनका लागि उनका वुवाले पनि बाचुञ्जेल ठेलाकै व्यापार गरेका थिए । ६ बर्षअघि बुवाको देहान्त भएपछि परिवारमा अभिभावकत्वको जिम्मेदारी राजेशको काँधमाथि आएको छ ।
उनको ठेलाको व्यापार मौसमी हो । मौसम अनुरुप फरक बस्तुको गरिने व्यापार । ठूलो व्यापार गर्न ठूलो पुँजी जुटाउन नसक्ने हैसियत भएपछि उनका लागि सडकमा गुडाउँदै बढी मान्छे जम्मा हुने र आवतजावत हुने स्थानमा व्यापार गर्न यही ठेला उपयुक्त माध्यम बनेको छ । विहान खाना खाएपछि ठेला लिएर निस्किन्छन् । साँझ ९ बजेतिर घर फर्किन्छन् ।
चिसो मौसमका बेला बदाम भुट्दै बिक्री गर्छन् । गर्मीमा नरिवल, खरबुजा, काक्रा लगायत्का बस्तुको । ठेला धकेल्दै सडक सडकमा डुलेर व्यापार गर्ने इच्छा उनको त होइन । तर, पूँजि जुटाउने सामथ्र्य नहुँदा अन्य व्यवसाय गर्ने बिकल्प नभएपछि ठेलामा व्यापार गर्नु उनको बाध्यता हो ।
सात बर्षअघि बुवाले जसोतसो दुःख गरेर जम्मा गरेको र ऋण सापटी लिएर पैसाको बन्दोबस्त गरेर उनी बैदेशिक रोजगारीका लागि कतारमा गए । बुवाले ठेलामा व्यापार गरेर परिवारको गुजारा चलाएका थिए । बुवा बिरामी पर्न थाले । ठेला चल्न छाड्यो । परिवारको दैनिकी गुजारा चल्न गाह्रो भयो ।
आमा अमलाबतिले घर फर्किन बारम्बार फोन गरिन् । घरमा ससाना भाइबहिनी सहितको उनको परिवारको देखभाल गरिदिने अरु कोही थिएन । कोभिड संक्रमणको वेला सन् २०१९ मा उनी कतारबाट घर फर्के । घर फर्केको पाँच दिनपछि बुवाको मृत्यु भयो । बुवाको अन्तिम संस्कार सम्पन्न गरे लगत्तै बुवाले चलाउँदै आएको ठेला धकेल्ने कार्य उनको दैनिकी बन्यो ।
‘परिवारको गुजारा चलाउन बुवा बिरामी भएर थलिएपछि थन्केको ठेलालाई कसकास र मर्मत गर्दै बजारमा निकाल्नुको बिकल्प मसँग भएन’, राजेशले भने, ‘त्यसपछि बिवाह गरें । चार बर्षको छोरो छ । परिवारमा खर्च बढेको छ ।’
राजेशको सवा धुर जमिन बाहेक पुख्र्यौली सम्पत्ति केही छैन । ठेलाको व्यापारलेमात्र परिवारको गुजारा चलाउन गाह्रो हुन थालेपछि ७ मा पढ्दै गरेका भाइ महेन्द्र र बहिनीकोे पढाइ रोकिन पुग्यो । महेन्द्रले दश महिनादेखि भाँडामा अटोरिक्सा चलाएर घर खर्चमा दाजुलाई सहयोग गर्न थालेका छन् ।
आफ्नो घर नभएकाले भाडामा बस्नु परेको छ । सवै परिवार सँगै बस्नका लागि अटाउने घर भाडामा नपाइएपछि नजिकै दुईवटा घरमा चारवटा कोठा भाडामा लिनु परेको छ । ठेलावाला भनेपछि सहजै घर वा कोठा भाडामा दिन कसैले नचाहने र ठेला गुडाएर निकाल्न मिल्ने बाटो भएको घर सहजै नपाइने समस्या उनलाई छ ।
आमा मुटुको बिरामी छन् । महिनैपिच्छे मुटुको इसीजी, इको लगायत्का परीक्षण र नियमित औषधी खाइराख्नु पर्छ । उपचारका लागि मासिका खर्च कति लाग्छ ? कुनै यकिन हुँदैन ।
‘हरेक चिजको महँगी बढेको छ । महिनामा २० हजार रुपैयाँले पनि घर खर्च चलाउन धौ–धौ भइरहेको छ’, उनले भने, ‘खर्च कटौती गर्न मिल्ने कुनै चिज नै छैन । एकसरो लगाउन र बिहान साँझको छाक टारेर सामान्य दैनिक गुजारा चलाउने बाहेक अन्य कुरामा खर्च गर्न पुगेको छैन ।’
सिजनको वेलामा बदाम बिक्री गरेर दैनिक सरदर ५ सय रुपैयाँका दरले महिनामा १५ हजार जति उनको कमाइ हुने गर्छ । कहिले त्यति पनि हुँदैन । भाइले अटो चलाउन थालेपछि मासिक ५–७ हजार सहयोग गर्ने गरेका छन् । आमाको बृद्ध भत्ताले औषधि उपचारका लागि पनि पुग्दैन ।
सबैभन्दा ठूलो खर्च घर भाडामा गइरहेको उनको भनाइ छ । सवा धुर जमिनमा दुई कोठासम्मको घर बनाउन मिल्ने र दुई तल्लाको बनाएमा ४ वटा कोठामा परिवारको गुजारा चल्ने उनी बताउँछन् । तर, घर बनाउने कसरी ? घर बनाउन पुग्ने पैसा छैन । भाइको कमाइ बढ्दै गएमा अबको योजना भनेको सानो दुई कोठे घर बनाएर भाडामा गइरहेको खर्च जोगाउने हो ।
कतारमा उनले आल्मुनियमको झ्याल ढोका बनाउने उद्योगमा वल्डिङको काम गर्थे । त्यही काम यहाँ गर्न सुरुमैं ठूलो रकम लगानी लगाउनु पर्ने भयो । जो सम्भव छैन ।
आमाको मुटुको अप्रेशन गर्नु पर्ने र यसका लागि ५–६ लाख रुपैयाँ खर्च हुने डाक्टरले भनेकोे उनले सुनाए । अप्रेशन नहुन्जेल नियमित चेकजाँच र औषधी खाइरहनु पर्ने भएको हो । ‘आमाको अप्रेशन गर्न पैसा छैन । भाइ र बहिनीको विवाह गरिदिनु पर्ने जिम्मेवारी मेरो काँंधमा छ, कसरी खर्च जुटाउ ?’, मलिन स्वरमा उनले भने, ‘चिन्ताले कहिलेकाहीँ रातभरि निन्द्रा लाग्दैन ।’
बढी चिन्ता लागेको र दुखी भएको वेला मन हलुङ्गो बनाउन आफू जस्तै ठेला चलाउने एकजना साथीसँग आपसमा दुःखका कुरा सुनाउँदै मन साटासाट गर्छन् । घर भाडा र आमाको औषधी उपचार बाहेक खाने चामल आटा लगायतका रासन, खाना पकाउने ग्यास, तरकारी, दुध, चिनी लगायत्का खाद्य सामाग्रीमा खर्च हुने गर्छ । ‘कुनै पनि कुरामा खर्च कटौती गर्ने ठाउँ नै छैन’, उनले भने, ‘एउटा सानो घर बनाउन सकेमा घर भाडाको खर्च कटौती हुने थियो ।’
भाइले कमाउनु अघिसम्म केही महिना आफ्नोमात्रै कमाइले घर खर्च चलाउन नपुगेर साथीभाइसँग सरसापट लिने गरेको र कमाएपछि तिर्ने गरेको उनले सुनाए । भाइले कमाएर केही सघाउन थालेपछि केवटले सानो छोराकालागि दुई महिनादेखि दैनिक १ सय रुपैयाँ बचत गरेर जम्मा गर्ने गरेका छन् ।
तत्काल आमाको मुटुको अप्रेसनका लागि पैसा जुटाउन नसक्दा बढी चिन्ता उनलाई लाग्ने गरेको छ । ‘अहिलेसम्मको कमाई घर खर्च धान्नमैं ठिक्क छ’, उनले भने, ‘कमाइ अनुरुपको सपना देख्नुपर्छ । घर खर्च चलाउने र आफ्नो जिम्मेवारी निभाउने बाहेकको ठूलो सपना मैले देखेको छैन ।’
बिना अवरोध ठेला सञ्चालन गर्न पाउनु पर्ने चाहना उनको छ । सडक किनाराको नाली देखाउँदै उनले भने, ‘उ त्यो नाली भन्दा उता सडक तिर ठेला राख्न पाइँदैन, नगर पुलिस र ट्राफिक प्रहरीले देखेमा हटाउन लगाइहाल्छन् ।’
लेखकको सम्वन्धमा