लुम्बिनीमा दसैंमा भए ५३६ सवारी दुर्घटना, सबैभन्दा बढी रूपन्देहीमा, २२ को मृत्यु

भैरहवा– हाम्रो मुलुकमा दिनहुँजसो दुर्घटना हुन्छन् । अझ चाडपर्वमा दुर्घटना बढी मात्रामा हुने गरेका छन् । यसपटक पनि बडादसैंमा कयौं दुर्घटना भए । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार यो दसैंमा प्रदेशमा ५३६ वटा सवारी दुर्घटना भएका छन् । दसैं सुरु भएयता यति धेरै दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांक छ । दसैंमा सवारी चाप बढ्ने हुँदा सधैं दुर्घटना हुने गरेका छन् ।
यसमा पनि यसपटक वर्षा भयो । पहाडमा बाढी पहिरोले पनि दुर्घटनाको जोखिम नित्याए । तराईमा ओभरस्पीड दुर्घटनाको मुख्य कारक छ । दसैंमा पहाडी र तराईका सबै जिल्लाहरुमा दुर्घटना भएका छन् । प्रदेशका १२ जिल्लामा ५३६ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएकोे नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका डीएसपी दीपेश बस्यालले जानकारी दिए ।
ट्राफिक प्रहरीको तथ्यांक अनुसार पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामा धेरै सवारी दुर्घटना भएका छन् । असोज ६ गतेदेखि १९ गतेसम्मको अवधिमा प्रदेशका १२ भएका दुर्घटनामा १४८ जना गम्भीर घाइते र ५८७ जना साधारण घाइते भएका भएको डीएसपी बस्यालले बताए ।
‘मृत्यु हुनेमा पुरुष १२ जना, महिला ७ जना र बालबालिका ३ जना छन्’, उनले भने, ‘गम्भीर घाइते हुनेमा पुरुष ९६ जना, महिला ३२ जना र बालबालिका १९ जना छन् । साधारण घाइतेतर्फ पनि पुरुषको संख्या धेरै छ । साधारण घाइतेतर्फ ३७४ जना पुरुष, ४८ जना महिला र ७७ जना बालबालिका छन् ।’
ट्राफिक प्रहरीका अनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै दुर्घटना रुपन्देही जिल्लामा भएका छन् । रुपन्देहीमा १३५ सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २० जना गम्भीर घाइते भएका छन् । यस्तै, ११९ जना साधारण घाइते भएका छन् ।
पश्चिम नवलपरासीमा ५० सवारी दुर्घटना हुँदा २ जना गम्भीर घाइते र ५७ जना साधारण घाइते भएका छन् । कपिलवस्तुमा ४४ सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २६ जना गम्भीर घाइते र ६३ जना साधारण घाइते भएको डीएसपी बस्यालले जानकारी दिए ।
पाल्पा जिल्लामा २३ सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । यी दुर्घटनामा एक जना गम्भीर घाइते र ४० जना सामान्य घाइते भएका छन् । गुल्मीमा १९ सवारी दुर्घटना हुँदा ३ जना गम्भीर घाइते र २३ जना साधारण घाइते भएका छन् । यस्तै अर्घाखाँचीमा १० वटा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते र २८ जना साधारण घाइते भएका छन् । दाङमा ५० सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते १९ जना र साधारण घाइते ३७ जना भएका छन् ।
ट्राफिक प्रहरीका अनुसार बाँकेमा ९९ सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते १६ जना, साधारण घाइते १४० जना भएका छन् । बर्दियामा ९३ सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५५ जना गम्भीर घाइते भएका छन् । बर्दियामा ५३ जना सामान्य घाइते भएका छन् ।
प्यूठानमा १३ वटा सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते, १४ जना साधारण घाइते भएका छन् । रोल्पामा ७ वटा सवारी दुर्घटना हुँदा १३ जना साधारण घाइते भएका छन् । पूर्वी रुकुममा एक सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते र एक जना साधारण घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्