न्यारोबडी जहाजबाट काठमाडौं–भैरहवा–काठमाडौं चार्टर्ड उडान, १५७ यात्रु भैरहवाबाट उडे

भैरहवा– गन्तव्यमा पुग्न नसकेर अलपत्र यात्रुको उद्धारका लागि नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार मध्यान्न काठमाडौं–भैरहवा–काठमाडौं चार्टर्ड उडान गरेको छ । निगमको १ सय ५८ सिट क्षमताको एयरवस ३२० ले उडान भैरहवाबाट उडान भरेको हो । काठमाडौंबाट दिउँसो ३ बजेर ४२ मिनेटमा भैरहवा ल्याण्ड गरेको न्यारोबडीले बेलुका साढे पाँच बजे १ सय ५७ जना यात्रु लिएर काठमाडौं फर्किएको थियो ।
काठमाडौंबाट भैरहवा आउँदा उक्त जहाजमा ७६ जना यात्रु आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापवावु तिवारीले जानकारी दिए । नियमित उडान भर्दै आएका जहाजमा टिकट नपाएपछि भैरहवामा यात्रुहरु अलपत्र परेका थिए । जरुरी कामले काठमाडौं जानुपर्ने यात्रुहरु अलपत्र परेपछि सरकारले न्यारोबडीमार्फत् उडान गर्ने निर्णय गरेको थियो ।
‘चार्टर्ड उडानले जरुरी काम भएका यात्रुलाई धेरै सहज भएको छ’, तिवारीले भने, ‘विमानस्थल, नेपाल वायुसेवा र सरकारको पहलले यो सम्भव भएको हो ।’ आइतबार भैरहवाबाट न्यारोबडीले उडान भर्ने सूचनापछि उत्साहित भएर गौतमबुद्ध विमानस्थल पुगेका यात्रु उडान स्थगित भएको सूचनापछि निराश बनेर फर्किएका थिए । तर, सोमबार उडान भएपछि सर्वसाधरण शुखी भएका छन् ।
अन्य समयमा भैरहवा–काठमाडौं दैनिक १८ देखि २० वटा नियमित उडान हुँदै आएका छन् । तर, दसैं मान्न विभिन्न जिल्ला पुगेका यात्रुहरु सडक संजाल बन्द भएपछि अलपत्र परेका थिए । बुद्ध, यति र श्री एयरले उडान थप गरे पनि टिकट नपाएपछि यात्रुले टिकट नपाएको गुनासो गरेका थिए ।
यसपछि न्यारोबडीबाट उद्धार उडान गरिएको हो । न्यरोबडीले काठमाडौंबाट बैदेशिक रोजगारीमा जाने टिकट लिएका यात्रु, विरामी, अशक्त र बृद्धबृद्धालाई प्राथमिकतामा राखेर उडान गरेको विमानस्थलले जनाएको छ ।
प्रतिकृया दिनुहोस्