घर जलेका जनप्रतिनिधि र नेताहरूलाई आफन्तको आश्रय

भैरहवा– कहिलेकाही इतिहासमा नभएको र कहिल्यैं नभोगेको आपत आइलाग्छ । त्यस्तोबेला काम लाग्ने भनेकैं आफन्त र छरछिमेकी हुन् । गत भदौं २३ र २४ गते जेनजी आन्दोलनका क्रममा यस्तो विपद आइपर्यो । जसले लामो राजनीतिमा बिताएका नेताहरुलाई घरबार बिहीन बनायो ।
घर जलेका त्यस्ता नेता अहिले आफन्तको आश्रयमा बसिरहेका छन् । जीवनभरको कमाईले निर्माण गरेका घर जलेपछि उनीहरु आश्रय लिन बाध्य बनेका हुन् । यस्तो आपतबाट लुम्बिनी प्रदेशका मुख्यमन्त्री नै पीडित बने । गत भदौं २४ गते प्रदर्शनकारीले मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीको सन्धिखर्क–१, हटारिमास्थित घर आगजनी गरे । उक्त घर आचार्यकी श्रीमती दीपाले लामो समय शिक्षण पेशाबाट आर्जेको धनबाट निर्माण गरेकी थिइन् । तर, प्रदर्शनकारीले यसतर्फ ध्यान दिएनन् । उनीहरुले घर खरानी बनए । अहिले आचार्य दम्पत्ती मुख्यमन्त्री निवास छन् ।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अवस्था फरक छैन । दाङको तुलसीपुर–६, डुम्रीगाँउमा रहेको उनको घर पनि प्रदर्शनकारीले जलाइदिए । मुक्त कमैया आन्दोलनको जगमा स्थापित नेता थारुले वर्षौ लगाएर निर्माण गरेको घर जलाएपछि आफूलाई पीडा भएको जनाए । ‘सयौं मुक्त कमैयाका लागि जमिन र बास माग गर्दै लड्नु अपराध भयो र ?,’ उनले भने, ‘के कारण मेरो घर जलाइयो ? ।’
घर जलेपछि उनी पनि आफन्तको निवासमा आश्रय लिन बाध्य भएका छन् । उनकी बिरामी आमालाई उपचारका लागि काठमाडौँ लगिएको छ । बाँकी परिवार आफन्तकोमा छन् ।
कांग्रेस नेता दीपकुमार उपाध्यायको कपिलवस्तु, वाणगंगा–११, भडसास्थित घर पनि भदौं २४ गते नै प्रदर्शनकारीले जलाएका छन् । पुख्र्यौली घर जलेपछि उपाध्याय कपिलवस्तुको तौलिहवा रहेको अर्को घरमा सरेका छन् । प्रदर्शनकारीले बाणगंगा–८, स्थित माओवादी नेता चक्रपाणि खनाल (बलदेव), राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे र केपी शर्मा ओलीको सरकारमा भूमि व्यवस्था तथा सहरकारी मन्त्री रहेका बलराम अधिकारीको घर पनि जलाएदिए ।
वाणगंगा–८, स्थित जलाइएको घरमा अधिकारी दम्पत्ती अहिलेसम्म पुगेका छैनन् । मर्मत नगरी बस्न नमिल्ने भएपछि श्रीमती बसुन्धरासँगै निवर्तमान मन्त्री अधिकारी काठमाडौँतिरै आफन्तको घरमा बसिरहेका छन् । कलिलवस्तुका कांग्रेस नेता सुरेन्द्र आचार्यको घर पनि तोडफोड गरेका छन् । बुद्धभूमि–३, स्थित आचार्यको घर भने सरसफाइ गरेर बस्न मिल्ने बनाइएको छ । त्यसैगरी कपिलवस्तुस्थित एमाले नेता डम्बर शर्मा र जिल्ला भूमि आयोगका अध्यक्ष छविलाल पोख्रेलको पनि घर आन्दोलनकारीले तोडफोड र आगजनी गरेका छन् ।
घोराही उपमहानगरका पूर्वमेयर नरूलाल चौधरी, पूर्वसांसद कोमल वली र नेता हीराचन्द्र केसीको घरमा तोडफोड र आगजनी भएका छन् । कोमल वलीको होटलसमेत तोडफोड भएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका मेयर शम्भुलाल श्रेष्ठको घरमा पनि आन्दोलनकारी आगजनी गरे । घर क्षति भएपछि श्रेष्ठ अहिलेसम्म अन्यत्र बसिरहेका छन् । पूर्वीनवलपरासीका संघीय सांसद सरिता खनाल, बर्दघाटका मेयर रुद्र प्रकाश उपाध्याय, बर्दघाटका पूर्वमेयर धीरज बस्याल, प्रदेश सांसद विश्व प्रेम पाठक, सुनवलका मेयर विमला अर्याल, एमाले नेता थानप्रसाद गैरे, प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव, लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार, पूर्वमन्त्री तथा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी र सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायका घरमा आगजनी तथा तोडफोड भएका छन् ।
प्रदर्शनकारीले रुपन्देहीको मणिग्रामस्थित पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनका भाइ श्यामकृष्ण, तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण, सैनामैना नगरपालिका मेयर फणीन्द्र शर्मा, देवदह नगरपालिका मेयर धुव्र खरेल, लुम्बिनी प्रदेश खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेय लगायतको घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एवं एमाले नेता भूमिश्वर ढकाल, सिद्धार्थनगरका मेयर इस्तियाक अहमद खान, उपमेयर उमा अधिकारी, बुटवलका एमाले प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, भैरहवामा राप्रपाका नेता सागर प्रताप राणा र संघीय सांसद सर्वेन्द्रनाथ शुक्लाको घरमा पनि आगजनी भएको छ । शुक्ला भने प्रायः काठमाडौँ बस्ने गर्छन् । घर जलाइएपछि माथि उल्लेखित नेता तथा जनप्रतिनिधि अहिले आफन्तको आश्रयमा छन् ।
प्रतिकृया दिनुहोस्