October 6, 2025, Monday
२०८२ आश्विन २० सोमबार

निगमको न्यारोबडीले काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्ने भएपछि टिकट काउन्टरमा भीड

भैरहवा– गन्तव्यमा पुग्न नसकेर अलपत्र यात्रुको उद्धारका लागि नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार दिउँसो काठमाडौं–भैरहवा–काठमाडौं चार्टर्ड उडान गर्ने भएपछि भैरहवाको देवकोटाचोकस्थित टिकट काउन्टरमा सर्वसाधरणको भीड लागेको छ ।

Advertisement

टिकट काट्नका लागि उनीहरु बिहानै काउन्टरमा पुगेका हुन् । विपद्का कारण सार्वजनिक यातायात सञ्चालनमा कठिनाई भएपछि अशक्त, बिरामी, बैदेशिक रोजगारीमा जाने व्यक्ति लक्षित गरेर आइतबार राति ९ बजेका लागि उडान अनुमति मिले पनि प्राविधिक कारण जनाउँदैं नेपाल वायुसेवा निगमले प्रेस बिज्ञप्ती जारी गरेर उडान तालिका सोमबार दिउँसोका लागि सारेको थियो ।

निगमको १ सय ५८ सिट क्षमताको एयरवस ३२० ले उडान भर्ने सूचनापछि उत्साहित भएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रु उडान स्थगित भएको सूचनापछि निराश बनेर फर्किएका थिए । निगमले जारी गरेको विज्ञप्ती अनुसार सोमबार दिउँसो एक बजे विमान भैरहवा अवतरण गर्नेछ । भने, २ बजेर ४५ मिनेटमा भैरहवाबाट काठमाडौं प्रस्थान गर्ने तालिका छ ।

सोमबार दिउँसो २ बजेर ४५ मिनेटमा तय भएको उद्धार उडानका लागि आवश्यक सबै तयारी पूरा गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । ‘हिजो विभिन्न कारणले उडान स्थगित भयो,’ उनले भने, ‘आज दिउँसो उडान हुन्छ, हामी तयारी अवस्थामा छौं ।’