October 6, 2025, Monday
२०८२ आश्विन २० सोमबार

भैरहवाबाट साेमबार बिहानैदेखि लामोदुरीका सबै बस सञ्चालन हुने

भैरहवा– प्रतिकुल मौसमका कारण बन्द रहेका दिवा तथा रात्री बसहरु आइतबार अपरान्हदेखि बेलहिया (सुनौली)–भैरहवा क्षेत्रबाट आंशिक रुपमा सञ्चालनमा आउन थालेका छन् । सोमबार बिहानदेखि भने भैरहवा क्षेत्रबाट साविकमा जस्तै मुलुकका प्रमुख गन्तब्य स्थलहरुका लागि रात्री तथा दिवा बस सञ्चालन हुने भएका छन् ।

Advertisement

बंगालको खाडीबाट भित्रिएको मनसुनी बायुले मुलुकको विभिन्न स्थानमा भएको अबिरल बर्षाका कारण जनधनको क्षती हुन नादिन पूर्व सावधानी अपनाउँदै शनिबारदेखि भैरहवा क्षेत्रबाट लामो दुरीका सबै बस सञ्चालन बन्द गरिएको थियो ।

पश्चिम नेपाल बस व्यवसायी प्रालि क्षेत्रीय कार्यालय भैरहवाका इञ्चार्ज शंकर खरेलले मौसममा सुधार हुँदै जान थालेपछि र अवरुद्ध बनेका सडक तथा राजमार्ग सुचारु भएपछि भैरहवाबाट पूर्वतर्फका स्थानमा आइतबार अपरान्हदेखि रात्री बस सेवा सञ्चालन सुरु गरेको जानकारी दिए ।

‘भोली बिहान ४ बजेदेखि साविकमा जस्तै भैरहवा र बेलहियाबाट छुट्ने सम्पूर्ण दिवा तथा रात्री बसहरु नियमित रुपमा सञ्चालनमा आउने छन्’, खरेलले पब्लिक कुरासँग भने, ‘बसहरु धेरै समयसम्म सञ्चालन नहुँदा दशैं मनाउने र अन्य यात्रुलाई धेरै समस्यामा पर्न थालेपछि सजगता अपनाउँदै बस सञ्चालन गर्न थालेका हौं ।’

भैरहवा क्षेत्रबाट लामो दुरीका दिवा र रात्री बस सञ्चालन नहुँदा दशैं मनाउन जानु पर्ने र भारतको विभिन्न स्थानबाट नेपाल आएका हजारौं यात्रु समस्यामा परेका छन् । भारतमा अध्ययन, औषधी उपचार, भ्रमण गरेर फर्केका स्वदेशी तथा बिदेशी यात्रु बस सञ्चालन हुने प्रतिक्षामा बसिरहेका छन् ।

कतिपय आफन्त नातेदारकोमा बसेका छन् भने कतिपय होटलमा बसेका छन् । पूर्णिमासम्म दशैं मनाउने चलन रहेकाले कतिपय दशैं मनाउन आफन्तकोमा जान सकेका छैनन् भने कतिपय दशैं मनाएर घर फर्किन पाएका छैनन् ।

‘कहिलेबाट बस सञ्चालन हुने हो ? भन्ने अन्यौलता यात्रुमा अत्याधिक छ । सोधखोज गरिरहेका छन्’, खरेलले भने, ‘बस सञ्चालन बन्द हुनु भन्दा पहिला टिकट काटिसकेका यात्रु सवैको भाडा फिर्ता गरिसकेका छौं ।’

पश्चिम नेपाल मुलुकभरि सर्वाधिक बस सञ्चालन गर्ने मुलुककै सवैभन्दा ठुलो बस व्यवसायी संस्था हो । पश्चिम नेपाल बस व्यवसायी प्रालिका अनुसार, भैरहवा क्षेत्रबाट नेपालको काठमाडौं, पोखरा, बाग्लुङ, काँकाडभिट्टा, जनकपुर, बिराटनगर, बीरगञ्ज, म्याग्दी, जोमसोम, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर लगायत्रका स्थानका लागि दैनिक झण्डै १ सय वटा दिवा तथा रात्री बस सञ्चालन हुने गरेका छन् ।

यात्रुको सोधपुछ र थप जानकारीका लागि ०७१–५७३४३२ नम्बरको टेलिफोन सेवा उपलब्ध रहेको खरेलले जनाए । पश्चिम नेपाल पछि भैरहवाबाट मुलुकको विभिन्न लामो दुरीमा दिवा तथा रात्री बस सेवा सञ्चालन गर्ने गरेको सिद्धार्थ यातायात प्रालिले पनि यात्रुको अवस्था र मौसमको अवस्था हेरेर बस सञ्चालन गरिने जनाएको छ ।

सिद्धार्थ यातायातका अध्यक्ष संजिव रोक्काले मौसमको अवस्था हेरेर बस सञ्चालन गरिने बताए । उनका अनुसार, सिद्धार्थको पनि काठमाडौं, पोखरा, काँकडभितट्टा, बीरगञ्ज लगायतका मुलुकका विभिन्न लामो दुरीका स्थानका लागि दुई दर्जन भन्दा धेरै दिवा तथा रात्री बस सञ्चालन हुँदै आएका छन् ।

पश्चिम नेपालले आइतवार साँझ ७ बजेसम्म पाल्पाको दोभान कटिसक्ने गरि भैरहवाबाट सिद्धार्थ राजमार्ग हुँदै रात्री बस सञ्चालन गरिने जनाएको छ । ‘लामो दुरीका बस सञ्चालन हुन थालेपछि यात्रुले धमाधम टिकट काउण्टरबाट र अनलाइनबाट टिकट काट्न थालेका छन्’, खरेलले भने ।