सशस्त्र डण्डाले रातिमा आफ्नै गेट अगाडिबाट गराउँछ खुलेयाम तस्करी

भैरहवा– सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म, भैरहवा (बीओपी डण्डा, रुपन्देही)ले सेटिङमै तस्करी गराउने गरेको तथ्य फेला परेको छ । सीमा क्षेत्रमा खटिएका सशस्त्रले खासगरी रातिको समयमा सयौं मोटरसाइकलमा तस्करीका सामान भित्र्याउन सहजीकरण गरी ‘आर्थिक लाभ’ लिइरहेका हुन् ।
पब्लिक कुरालाई प्राप्त भिडियो, अडियो र केही फोन रेकर्डहरुले समेत सशस्त्र बीओपी डण्डाले खुलेयाम तस्करहरुको संरक्षण गरिरहेको पुष्टि हुन्छ । जेनजी आन्दोलनसम्म खासै तस्करी नभए पनि त्यसयता सशस्त्रले खुलेयाम तस्करी गराइरहेको छ । असोज लागेयता भैरहवा क्षेत्रका केही ‘नामूद’ तस्करहरसँग डण्डाका इन्चार्ज डीएसपी रन्जन बुढाथोकी र इन्स्पेक्टर दीपेन्द्र बोहराको उठबस छ ।
बोहरा तिनै सशस्त्रका अधिकृत हुन्, जसले डीएसपीलाई ठूला तस्करहरुसँग साँठगाँठमा सहयोग गरिरहेका छन् । बाहिर ‘एक रुपैयाँ पनि खाँदैन र तस्करी हुन दिँदैन’ भन्ने डीएसपी बुढाथोकीले ४ जना घुमुवा समेत परिचालन गरेर रकम असुली गरिरहेका छन् । घुमुवाहरु मोछ बोगटी र सुभाष भुसाललाई इन्स्पेक्टर बोहराले प्रायःसँगै लिएर हिंड्छन् ।
शुक्रबार मात्रै डीएसपी बुढाथोकी, इन्स्पेक्टर बोहरा, घुमुवाहरु बोगटी र भुसालले तस्करीका सामान बरामद गरेर पनि भन्सार नबुझाई आधा गायव बनाएर विक्री गर्ने गरेको तथ्य पक्लिब कुराले बाहिर ल्याएको थियो ।
डीएसपी नेतृत्वको यहाँको बीओपीले ठूला तस्करहरुसँग मासिक ५ देखि ५० हजारसम्म असुली गर्ने गरेको स्वयं तस्करहरु नै बताउँछन् । ‘हामीसँग मासिक पैसा पनि बुझ्ने अनी सामान पनि समात्ने’, एकजना तस्करले भने, ‘समातेको सामान फेरि भन्सार नबुझाएर गायव बनाई विक्री गरेर पैसा खाने, यो प्रवृत्ति सशस्त्र डण्डामा लामो समयदेखि संगठित रुपमै चल्दै आएको छ ।’
सशस्त्र स्रोतका अनुसार ठूला तस्करीका सामानहरु रातिमा नेपाल भित्रिन्छ । त्यस्ता सामानहरु तस्करी गर्ने समूहसँग इन्स्पेक्टर बोहराले ‘डिलिङ’ गर्छन् । स्थानीयले रातभरी मोटरसाइकलमा हुने तस्करहरुकै कारण चर्को आवाजले ‘निद्रा डिस्टव’ भएको गुनासो गर्दै आएका छन् । खासगरी रातिमा जुत्ता, हार्डवेयर, मोटरपार्टस्, कपडा बढी मात्रामा तस्करी हुने गरेको छ, त्यो पनि डण्डामा रहेको सशस्त्रको गेटै अगाडिबाटै ।
यस्तै, दिउँसोमा फरेनिया, मेउडिहवा, चेकप्वाइन्ट अगाडिबाट तस्करी हुन्छ । दिउँसोमा काजुबदाम, किराना, कपडा, जुत्ता लगायत घरायसी उपभोग्य सामान बढी मात्रामा तस्करी हुने गर्छ । तस्करहरुका अनुसार कसले कति महंगो सामान तस्करी गर्छ ? सोही अनुसार सशस्त्रका इन्चार्ज र घुमुवाहरुले उनीहरुसँग त्यहीअनुसारको मासिक आर्थिक लाभ लिने गरेका छन् ।
यस्तै, ड्युटीमा हुने तल्लो दर्जाका सशस्त्रका कर्मचारीले भने हरेक तस्करसँग सामान हेरेर हरेक बाइक र साइकलसँग ३ सय देखि ५ सय रुपैयाँ लिने गरेका छन् । डीएसपी बुढाथोकीले आफूले घुमुवा परिचालन नगरेको र कुनै तस्करसँग साँठगाँठ समेत नगरेको दावी गरे । तर, रातिको १० देखि बिहान ३ बजेसम्म सशस्त्रको गेटै अगाडिबाट दर्जनौं मोटरसाइकलबाट तस्करी हुने गरेको स्थानीय प्रत्यक्षदर्शी बताउँछन् ।
सशस्त्र डण्डाको पैसा असुल्ने अनौठो तरिकाः तस्करीको सामान बरामद गर्दै बेच्दै
प्रतिकृया दिनुहोस्