जेनजीको नाममा आपराधिक समूहहरूले लाभ उठाएः मुख्यमन्त्री आचार्य

परासी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजीको आन्दोलनका कारण पश्चिम नवलपरासी जिल्लामा प्रभावित भएका सरकारी कार्यालय, व्यवसायिक भवन तथा निजी घरहरूको अनुगमन गरेका छन् । शुक्रबार उनले अनुगमन गर्दै उच्च मनोबलसाथ काम गर्न आग्रह गरे ।
भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी र तोडफोड भएर प्रभावित भएका कार्यालयहरूको सेवा प्रवाहलाई निरन्तरता दिने उद्देश्यले उनले अनुगमनलाई जारी राखेका छन् ।
यसअघि अर्घाखाँची, प्यूठान, दाङ, बाँके र रुपन्देही जिल्लाका प्रभावित कार्यालयहरूको अनुगमन गरेका मुख्यमन्त्री आचार्यले शुक्रबार पश्चिम नवलपरासीका विभिन्न प्रभावित कार्यालयहरूको निरीक्षण गरेका हुन् ।
जेनजीहरूले सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाट नगरेको स्पष्ट गर्दै मुख्यमन्त्री आचार्यले जेनजीको नाममा आपराधिक समूहहरूले त्यसको लाभ उठाएको ठहर गरे ।
विभिन्न कार्यालयहरूको अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सार्वजनिक, सरकारी तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन संघीय सरकारसँग माग गरे ।
‘जेनजीहरूले मुलुकमा सुशासन कायम गर्दै भ्रष्टाचारको अन्त्य चाहेका हुन् । उनीहरूको प्रमुख मुद्दा यिनै थिए । तर, जुन प्रकारले अराजकता फैलाउने काम भयो, त्यो जेनजीको भावना विपरीतको कार्य हो’, उनले भने, ‘यो जुन ध्वंश पार्ने काम गरिएको छ, गराइएको छ, यसप्रति घोर आपत्ति छ ।’
मुख्यमन्त्री आचार्यले जनताको काम टेन्टमुनि बसेर भए पनि गर्ने विश्वास दिलाए । ‘टेन्टमुनि बसेर भए पनि जनताको काम गर्छौं । कर्मचारीहरूलाई मनोबल उच्च बनाएर काम खट्न भनिसकेका छौं । उहाँहरूले काम थालनी गर्नुभएको छ’, मुख्यमन्त्री आचार्यले भने, ‘पूर्ण रूपमा ध्वस्त भएका कार्यालयहरूबाट सेवा सुचारु गर्न प्रदेश सरकारले सहयोग गर्ने निर्णय पनि गरिसकेको छ ।’
आन्दोलनका क्रममा पश्चिम नवलपरासीको सरावल गाउँपालिका, बर्दघाट नगरपालिका, वडा कार्यालयहरू, जनप्रतिनिधिहरूको निवास, होटल तथा रेस्टुरेन्टहरूमा आगजनी, तोडफोड र लुटपाट भएको थियो । सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले जेनजीहरुको आन्दोलनको नाममा भएको अराजक गतिविधिले सार्वजनिक, सरकारी तथा निजि सम्पत्तिहरुमा ठूलो क्षति पुगेको बताए ।
‘जेनजी’को आन्दोलनका क्रममा लुम्बिनी प्रदेशमा १३२ सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएको प्रारम्भिक विवरण यसअघि सार्वजनिक गरिएको थियो । आन्दोलनका क्रममा ६७ निजी सम्पत्ति, ५२ राजनीतिक दलका पार्टी कार्यालय र १४ प्रहरी कार्यालयमा समेत आगजनी तथा तोडफोड भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस्