September 28, 2025, Sunday
२०८२ आश्विन १२ आईतवार

बेलहिया नाकाबाट साढे ८ महिनामा भित्रिए ९४ देशका ५२ हजार बढी पर्यटक

भैरहवा– रुपन्देहीको बेलहिया नाका हुँदै सन् २०२५ को साढे आठ महिनामा ९४ देशका ५२ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार यसरी भित्रिने पर्यटकहरुमा सबैभन्दा धेरै श्रीलंकाका छन् । यसपछि थाइल्याण्ड, म्यानमार, दक्षिण कोरिण र भियतनामका छन् ।

Advertisement

अधयागमनको तथ्यांकअनुसार जनवरीमा ६ हजार ७९३, फेब्रुअरीमा १७ हजार ८७१, मार्चमा २० हजार ७२०, अप्रिलमा ३ हजार ९४१, मे मा १ हजार २७९, जुनमा ६१३, जुलाई १ हजार ४०६, अगस्तमा ६ हजार ६११ पर्यटक बेलहिया नाका हुँदै नेपाल आएका छन् । यस्तै, सेप्टेम्बर महिनाको दुई हप्तामा १ हजार ३७० पर्यटक नेपाल आएको अध्यागमनका सूचना अधिकारी पुकार श्रेष्ठले बताए ।

उनका अनुसार जेनजी आन्दोलनका बेला पनि पर्यटक आइरहेका थिए । ‘आन्दोलनले पनि खासै फरक पारेन’, उनले भने, ‘अन्तर्राष्ट्रिय जगतमा नेपाल शान्त छ भन्ने सन्देश प्रवाह गर्न पनि जरुरी छ ।’

यो नाका हुँदै २०२४ मा १ सय ९७ देशका पर्यटक नेपाल आएका थिए । जसमध्ये श्रीलंका, थाइल्याण्ड, म्यानमार, भियतनाम र दक्षिण कोरिया सर्वाधिक थिए । अध्यागमन कार्यालय, बेलहियाको तथ्यांकअनुसार सन् २०२४ मा यस नाकाबाट नेपाल आउने तेस्रो मुलुकका पर्यटकको संख्या ९२ हजार ६ सय ४४ थियो । सन् २०२५ को साढे ८ महिनासम्म अफगानिस्तान, अल्जेरिया, अन्दोरा, क्यामरुन, क्युवा, बरवादोस, ब्रुनाइ, कंगो, एरिटिया, हाइटी, हन्डुरास, इभोरिकोस्ट, कार्जिस्तान, लिथुनिया, ताजकिस्तान, युगिस्लाभिया, सुडान, सिरिया, सेनेगल, स्कोटिश, पयासबसुफ, मोजामिक राष्ट्रबाट भने पर्यटक आगमन शुन्य छ ।

सुनौली–भैरहवा नाका स्थलमार्ग हुँदै सर्वाधिक पर्यटक नेपाल भित्रिने मुख्य नाका हो । पर्यटक आवागमनको हिसावले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको मुलुककै दोस्रो ठूलो हो । सन् २०१९ मा १ लाख ६१ हजार ६ सय १९, सन् २०२० मा ४३ हजार ३ सय ६७, सन् २०२१ मा ८ सय १२, सन् २०२२ मा २० हजार २ सय २० र सन् २०२३ मा ८१ हजार ५ सय ५१ पर्यटक बेलहिया नाका हुँदै नेपाल आएका थिए ।

यस नाकाबाट आउने अधिकांश पर्यटकको मुख्य गन्तव्य लुम्बिनी हो । त्यसपछिको गन्तब्य पाल्पा, पोखरा, मुक्तिनाथ, काठमाडौं, सौराहा हुन् । मुख्य गन्तब्य स्थल लुम्बिनीमा पर्यटकको बसाईं अवधि बढ्न भने सकेको पाइँदैन । अधिकतम २ रात भन्दा बढी पर्यटक बसेका छैनन् । पासपोर्ट होल्डरहरु दश प्रतिशत हाराहारीमा उही दिन फर्किने गरेको सूचना अधिकारी श्रेष्ठले बताउँछन् । बेलहिया नाकाबाट भारतीय पर्यटकको आगमन उच्च छ । तर, भारतीयहरुलाई भिसा लगाउन नपर्ने भएकाले उनीहरुको तथ्यांक अध्यागमनले राख्दैन ।