September 29, 2025, Monday
२०८२ आश्विन १३ सोमबार

भैरहवा नाकाबाट केरासहितका कृषि उत्पादनको आयात रोकियो

भैरहवा– रुपन्देहीको बेलहिया–सुनौली नाका हुँदै भारत र अन्य मुलुकबाट हुने गरेको केरा लगायत् बिउबिजन र बिरुवाहरुको आयात केही दिनदेखि रोकिएको छ । कृषिजन्य ति उत्पादनको जैविक सुरक्षाबारे बिस्तृत रुपमा बिश्लेषण गर्नु पर्ने भएपछि तत्कालका लागि ति उत्पादनको आयात रोकिएको हो ।

Advertisement

प्लान्ट क्वारेन्टाइन कार्यालय, बेलहियाका प्रमुख शालिकराम पौडेलले बिदेशबाट आयात हुने ति कृषिजन्य उपजका कारण स्वदेशी उत्पादनमा कुनै रोगको संक्रमण हुन नदिएर सुरक्षित बनाउनका लागि जैविक सुरक्षाबारे बिश्लेषण गर्न थालिएको बताए ।

‘यस वारेमा प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्रबाट नै मुख्य सिमा नाकाहरुमा अवस्थित प्लान्ट क्वारेन्टाइन कार्यालयबाट आयातका लागि दिइने अनुमतीपत्र जारी नगर्न निर्देशन आएको छ’, पौडेलले भने, ‘केन्द्रको उक्त परिपत्र सहितको निर्देशन आएपछि यस नाकाबाट आयातका लागि अनुमतीपत्र जारी गर्न रोकेका छौं ।’

असोज २ गतेदेखि नै सुनौली नाकाबाट यि उत्पादनको आयातका लागि अनुपतीपत्र रोकिएको हो । परिपत्र हुनु अघि अनुमती लिइसकेका आयातकर्ताको हकमा भने तोकिएको शर्त बमोजिम पालना गरिएको प्रमाण र निर्यातकर्ता देशको आधिकारिक निकायबाट जारी गरिएको बिरुवा स्वस्थता प्रमाणपत्रको आधारमा छोडपत्र दिने गरिएको छ ।

आयात गर्नु नै पर्ने अवस्था आएमा शत्रुजीव जोखिम बिश्लेषण सम्बन्धि प्रकृया पुरा गरेरमात्र ति उत्पादनको आयात अनुमतीपत्र केन्द्रबाट नै जारी हुने गरेको छ ।

पौडेलका अनुसार नेपालमा आयात हुने ति कृषि उपजको सम्बन्धित देशको मुख्य मुख्य स्थानमा रोगको संक्रमण वारेमा स्थलगत अध्ययन गरि बिश्लेषण गर्ने गरिन्छ ।

यसअघि बिदेशबाट केराको आयात गर्दा स्वदेशी केरा उत्पादक किसान बिस्थापित हुन लागेको र स्वदेशमैं केराको उत्पादन प्रशस्त रहेको जनाउँदै नेपालका केरा उत्पादक संघहरुले बिदेशबाट हुने केराको आयात रोक्न माग गरेको थियो ।

असोज ६ गतेदेखि केराको आयात नगर्न आग्रह सहितको चेतावनी उनीहरुले नेपाल सरकारको सम्बन्धित निकायहरुमा दिएका थिए ।

प्लान्ट क्वारेन्टाइन कार्यालय बेलहियाका बाली संरक्षण अधिकृत उमाशंकर पाठकले पहिला सुनौली-बेलहिया नाकाबाट दैनिक ५–६ ट्रक केरा आयात हुने गरेकोमा अहिले आयात ठप्प रहेको बताए । ‘पहिला गोरखपुर क्षेत्र र भारतको आन्ध्र प्रदेशदेखि सुनौली नाका हुँदै केरा आउने गथ्र्यो अहिले आयात रोकिएको छ’, उनले भने ।