जेनजी आन्दोलनः लुम्बिनी प्रदेशमा ६ सय सरकारी गाडी जलाइयो

भैरहवा– गत भदौं २३ र २४ गते जेन–जी समूहको आन्दोलनका क्रममा भएको प्रदर्शनबाट लुम्बिनी प्रदेशस्थित सरकारी कार्यालयले ठूलो नोक्सानी बेहोर्नु परेको छ । भदौं २४ गते मध्यान्हपछि भडकिएको प्रदर्शनका क्रममा भौतिक पूर्वाधार, सरकारी दस्तावेज, महत्वपूर्ण सामाग्री र सवारी साधन जलाइएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले तयार गरेको प्रारम्भिक तथ्यांक अनुसार प्रदेशमा साना–ठूला गरेर ६ सयभन्दा बढी सरकारी कार्यालयका गाडी जलाइएको छ । प्रदेश प्रहरीका अनुसार बाँके जिल्लामा धेरै क्षति पुर्याइएको छ । बाँकेको नेपालगन्ज भन्सार कार्यालयमा लिलामीका लागि राखिएका दुई सयभन्दा बढी कार, भ्यान र मोटरसाइकल जलेर नष्ट भएका छन् । त्यस्तै नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका एम्बुलेन्ससहित करिब एकसय गाडी जलेका छन् ।
त्यसपछि दाङमा धेरै सवारी साधन जलाइएको छ । दाङमा १ स ८९ सवारीसाधन जलाइएको प्रहरीले जनाएको छ । रुपन्देहीमा सरकारी भवन र त्यहाँ आवश्यक सामाग्री जलाएर नष्ट गरिए पनि सवारी साधनमा कम क्षति पुगेको । प्रदर्शन भड्किनु पूर्व जिल्ला प्रशासनसित सम्पर्कमा रहेका कार्यालयले आफ्ना गाडी नजिकको प्रहरी कार्यालयभित्र पुर्याएका कारण जोगिएको सहायक प्रमुख जिल्ला अधिकारी चिरिजिवी रानाले बताए । ‘हामीलाई फोन गर्ने कार्यालयलाई सबै सवारी साधन प्रहरी कार्यालयमा लगेर राख्न भन्यौं,’ उनले भने, ‘जसले गर्दा कम गाडी जले ।’
रुपन्देहीमा लोकसेवा आयोगका चारवटा गाडी तथा मोटरसाइकल र स्कुटर गरी ११ वटा, राष्ट्रिय बाणिज्य बैंक, श्रम कार्यालय र इलाका प्रशासन कार्यालय बुटवलको एक–एकवटा गाडी नष्ट भएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेका ५ सरकारी गाडी जलेर नष्ट भएका छन् । पश्चिम नवलपरासीमा पाँचवटा चारपाङ्ग्रे र १५ वटा दुईपाङ्ग्रे सवारी साधन जलाइएको छ । भैरहवा भन्सारको पनि गाडी जलेको छ ।
बर्दियामा नगरपालिकाका दमकल, ट्याक्टर, एम्बुलेन्स र ११ वटा सरकारी मोटरसाइकल पूर्णरूपमा नष्ट भएका छन् । अर्घाखाँचीमाँ ५ वटा सरकारी सवारीसाधन पूर्ण रूपमा ध्वस्त भएका छन् । कपिलबस्तुमा ६ वटा सरकारी सवारी साधन आगजनीबाट ध्वस्त भएका छन् । प्रदर्शनकारीले जिल्ला अदालतमा रहेका पाँचवटा गाडी र एउटा मोटरसाईकल आगजनी गरी ध्वस्त बनाएका हुन् । रुकुमपूर्व, रोल्पा, प्यूठान, पाल्पा र गुल्मीमा भने कुनै सवारीसाधन नष्ट भएको छैन ।
प्रतिकृया दिनुहोस्