जेनजी प्रदर्शन: लुम्बिनी प्रदेशका कुन जिल्लाका कति क्षति ?

भैरहवा– जेनजी आन्दोलनका क्रममा भदौं २४ गते रुपन्देही लगायत लुम्बिनी प्रदेशका अन्य जिल्लामा पनि सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड र आगजनी गरिएको थियो । ती जिल्लामा रहेका सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान, पार्टी कार्यालय, नेताका घर लक्षित गरेर क्षति पुर्याइएको छ । प्रदेशका कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रुपन्देही लगायत जिल्लामा प्रदर्शनकारीले क्षति पुर्याएका हुन् ।
कपिलवस्तु प्रशासनका अनुसार त्यहाँका पाँच वटा सरकारी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ । प्रशासनका अनुसार नापी कार्यालय, जिल्ला अदालतका न्यायाधीशको निवास, कर कार्यालय, जिल्ला कारागार र जिल्ला अदालतमा तोडफोड भएको छ । यी सदरमुकाममा रहेका कार्यालय हुन् । प्रशासनले यी कार्यालयको क्षति विवरण यकिन भइनसकेको जनाएको छ ।
राजनीतिक दलका पार्टी कार्यालय र नेताहरूका घर गरी १२ वटा भवनमा तोडफोड र आगजनी भएको छ । तोडफोड र आगजनीमा नेपाली कांग्रेसका र नेकपा एकीकृत समाजवादीका कार्यालय परेका छन् । बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्याल, उपप्रमुख रिताकुमारी चौधरी, तत्कालीन संघीय मन्त्री बलराम अधिकारी, राष्ट्रिय सभा सदस्य विमला घिमिरे, पूर्वसांसद दीपकुमार उपाध्याय, भूमि आयोगका अध्यक्ष झविलाल पोख्रेल, एमाले नेता डम्मर शर्मा र पूर्वमन्त्री सुरेन्द्रराज आचार्यको घरमा तोडफोड र आगजनी भएको छ ।
त्यस्तै, दाङमा कम्तिमा २० वटा सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको छ । स्थानीय प्रशासनका अनुसार घोराहीस्थित नापी कार्यालय, वडा नम्बर ५, ८, ११, १२, १४ र १८ का कार्यालयमा तोडफोड भएको छ । सडक डिभिजन कार्यालयमा तोडफोड र आगजनी भएको छ । जिल्ला अदालतको गेटमा पनि क्षति पुगेको छ । बबई गाउँपालिकाको कार्यालय तथा वडा नम्बर ४ र ५ का वडा कार्यालयमा तोडफोड र आगजनी भएको छ । इलाका प्रशासन कार्यालय, तुलसीपुरको भवन र नागरिक सहायता कक्षका झ्यालका सिसा फुटेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाको एउटा गाडी तोडफोड भएको छ । घोराही उपमहानगरको गाडीमा आगजनी भएको छ । तुलसीपुरका वडा नम्बर ६, ८ र १८ का कार्यालय तथा बसपार्कमा उपमहानगरपालिकाले बनाएका घरटहरामा तोडफोड र आगजनी भएको छ । तुलसीपुरकै कर कार्यालय, मालपोत कार्यालय, नेपाल आयल निगमको डिपो र उच्च अदालतमा तोडफोड आगजनी र भएको छ । दाङमा करिब १० वटा प्रहरी कार्यालय र चौकीमा तोडफोड भएको छ । घोराहीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय भवनमा आगजनी भएको छ ।
दाङका विभिन्न ठाउँमा ८ वटा पार्टी कार्यालय तोडफोड र आगजनीमा परेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपाका पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको छ । प्रहरीका अनुसार घोराही उपमहानगरका पूर्वमेयर नरूलाल चौधरी, पूर्वसांसदहरू कोमल वली र हिराचन्द्र केसीको घरमा तोडफोड र आगजनी भएको छ । तुलसीपुर उपमहानगरपालिकामा रहेका पूर्वमुख्यमन्त्री तथा एमालेका महासचिव शंकर पोखरेल, अर्का पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी र पूर्वमन्त्री गेहेन्द्र गिरीको घर पनि निशानामा परे । घोराही उपमहानगरस्थित होटल मालाइनमा पनि तोडफोड र आगजनी गरिएको छ ।
बाँकेमा सरकारी र व्यक्तिहरूका गरी दुई दर्जन जति भवनमा तोडफोड र आगजनी भएको छ । प्रहरीका अनुसार कोहलपुरस्थित नापी, मालपोत, विद्युत, कोहलपुर नगरपालिका, राजस्व, इलाका प्रशासन र कोहलपुर नगरपालिका वडा नम्बर ८ का कार्यालयमा तोडफोड र आगजनी भएको छ । नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन, यातायात व्यवस्था, जिल्ला अदालत, उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलास, मालपोत, नेपालगन्ज भन्सार लगायत कार्यालय निसानामा परेका छन् ।
नरैनापुर गाउँपालिका, इलाका प्रशासन, इलाका प्रहरी र नेपालगन्ज ट्राफिक पोस्टमा पनि तोडफोड र आगजनी भएको छ । निसानामा परेका बाँकेका अधिकांश कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त छन् । कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यको घर पनि निशानामा पर्यो । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको छ । प्रहरीका दुई वटा गाडी जलाइएका छन् ।
पश्चिम नवलपरासीका सरकारी र संघसंस्थाका कार्यालय तथा निजी गरी करिब ४० वटा घरमा क्षति भएको छ । प्रहरीका अनुसार आगजनी र तोडफोडमा परेका अधिकांश घरमा पूर्ण क्षति भएको छ । बर्दघाट नगरपालिका, वडा नम्बर १, ४ र १० का कार्यालय, सरावाल गाउँपालिका वडा नम्बर १ र २ का कार्यालय निशानमा परे। राष्ट्रिय आवास कम्पनी कार्यालय तोडफोड र आगजनीबाट ध्वस्त भएको छ । एउटा सामुदायिक वनको कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय तथा त्यहाँ रहेका दुई वटा सरकारी गाडीमा र एउटा मोटरसाइकलमा पूर्ण क्षति भएको छ ।
रामग्राम नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन र नापी कार्यालयमा तोडफोड तथा आगजनी भएको छ । सुनवल नगरपालिका वडा नम्बर १, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका, पाल्हिनन्दन गाउँपालिकाको वडा नम्बर ३, सरावाल गाउँपालिकाको वडा नम्बर ७ कार्यालय निसानामा परे । जिल्लामा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमा पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी भएको छ ।
बर्दियामा नेपाली कांग्रेसका नेता एवं संघीय सांसद सञ्जयकुमार गौतम घर र गुलरिया नगरपालिकाको भवनमा तोडफोड र आगजनी भएको छ । कांग्रेस र नेकपा एमालेका पार्टी कार्यालयका सामान बाहिर निकालेर जलाइयो । गुलरियामा रहेको गणेशमान सिंहको शालिक तोडफोड भयो । अर्घाखाँचीमा सरकारी कार्यालय, पार्टी कार्यालय र निजी गरी १० वटा भवनमा आगजनी र तोडफोड भएको छ । चार वटा सरकारी कार्यालय, पाँच वटा पार्टी कार्यालय र एउटा निजी भवन निसानामा परे । सन्धिखर्कस्थित मुख्यमन्त्री चेतनारायण आचार्यको घर आगोले ध्वस्त भएको छ ।
जिल्ला समन्वय समिति, सन्धिखर्क नगरपालिका तथा वडा नम्बर १ र २ को कार्यालयमा तोडफोड भएको छ । सन्धिखर्कस्थित नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय जनमोर्चाका कार्यालय जलाइएको छ । गुल्मीमा राजनीतिक दलका कार्यालयहरूमा तोडफोड र आगजनी भयो। तम्घासमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका पार्टी कार्यालय जलाइएका छन् । प्यूठानमा मुख्य राजनीतिक दलका कार्यालयमा क्षति पु¥याइएको छ । नेकपा एमाले र माओवादी केन्द्रका आआफ्नै भवन थिए । कांग्रेस र राष्ट्रिय जनमोर्चाका कार्यालय भाडाका घरमा थिए । लुम्बिनी प्रदेशका पाल्पा, रोल्पा र रूकुममा कुनै किसिमको क्षति भएन ।
प्रदेश प्रहरीका अनुसार बाँकेको नौबस्तास्थित बाल सुधार गृहबाट भाग्ने क्रममा प्रहरीसँग झडप हुँदा ५ जना बालबन्दीको मृत्यु भयो। सो बाल सुधार गृहमा ९० जना बाल बिज्याइँका बन्दी थिए । तीमध्ये ५ जना मारिए, ८५ जना अझै फरार छन् । कपिलवस्तु कारागारबाट ४ सय ३१ जना कैदीबन्दी भागेकामा ५६ जना पक्राउ परे । निस्केका कैदीबन्दीले जिल्ला अदालतमा आगो लगाएका थिए । दाङबाट पनि २ सय १३ जना कैदीबन्दी भागेकामा ४० जना पक्राउ परेका छन् । बाँकेको नौबस्ता कारागारबाट १ सय ५० जना कैदीबन्दी भागे । प्रदेश प्रहरीका अनुसार लुम्बिनी प्रदेशमा ३७ जना प्रहरी र २० जना प्रदर्शनकारी घाइते भएका थिए । रुपन्देहीका करिब ६० वटा सरकारी, निजी सम्पत्तिमा आगजनी र तोडफोड भएको छ ।
प्रतिकृया दिनुहोस्