लुम्बिनीमा फर्कियो पर्यटकको चहलपहल

भैरहवा– मुलुकमा जेन–जी आन्दोलनपछि अवस्था सामान्य बन्दा लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीमा पर्यटकको चहलपहल बढेको छ । जनजीवनर पुरानै लयमा फर्किएपछि लुम्बिनीको मायादेवी मन्दिरमा पर्यटक बढेका हुन् । गत शनिबारबाट अवस्था सामान्य भएपछि लुम्बिनीमा स्वदेशी विदेशी पर्यटक, तीर्थालु र उपासक उपासिका बढ्दै गएका हुन् ।
लुम्बिनी बिकास कोषका अनुसार शुक्रबार फाट्टफुट्ट रूपमा विदेशी पर्यटक आएका थिए । शनिबार एक सयभन्दा बढी स्वदेशी र बिदेशी पर्यटकले मायादेवी मन्दिर घुमेका थिए । लुम्बिनी विकास कोष सूचना अधिकृत राजन बस्नेतका अनुसार आइतबार डेढ सय पर्यटक पुगेका थिए । सोमबारमात्रै २ सय ७३ जना श्रीलंकन तीर्थालु आएको उनले बताए । शनिबार यता २ सय ११ जना नेपाली, दुई सय ४४ भारतीय, ३ सय ७ जना सार्क र ४८ जना तेस्रो मुलुकका पर्यटक र तीर्थालुले मायादेवी मन्दिर अवलोकन गरेको सूचना अधिकृत बस्नेतले बताए ।
अन्तरिम सरकार गठन भएपछि शान्ति सुरक्षा अवस्था सुदृढ हुँदै जाँदा पर्यटक आवागमन बढेको भिक्षु सिरी बजिरले बताए । यसले राम्रो सन्देश गएको उनले बताए । पर्यटकीय सिजन सुरु हुँदै गर्दा धेरै पर्यटक लुम्बिनी आउने उनले बताए । शान्त वातावरणमा धुवा धुलो रहित हुँदा मायादेवी मन्दिर मनमोहक र चित्ताकर्षक देखिएको छ । ‘शान्त वातावरण थियो,’ चीनको बेइजिङबाट आएकी जिओ मेईले भनिन्, ’एक घण्टा ध्यान बसेर गजबको ऊर्जा प्राप्त गरे ।’
वर्षौँदेखिको तनाव र आक्रोश निमेषभरमै हटाउन सक्दा आनन्द र शान्तिको महसुस हुँदा खुसीको सीमा छैन् ।’ सफा मौसम र बादलको लुकामारीले मायादेवी मन्दिर निक्कै सुन्दर र अद्वितीय देखिएको छ । गत सोमबारदेखि असहज बनेको मुलुकको अवस्था शुक्रवार मध्यान्नबाट सहज बन्दै गएपछि शान्तिस्थल मायादेवी मन्दिरमा पनि पर्यटक र तीर्थालुको आगमन बिस्तारै बढ्दै गएको छ । शान्त वातावरणमा रमाउन पाउँदा उपासक उपासिका, तीर्थालु र पर्यटकहरू आनन्दित र शान्ति प्रति समर्पित बन्ने गरेका छन् । लुम्बिनी मुलुकको सबैभन्दा धेरै पर्यटक भ्रमण गर्ने गन्तव्य हो ।
प्रतिकृया दिनुहोस्