September 11, 2025, Thursday
२०८२ भाद्र २६ बिहीबार

रूपन्देहीमा शुक्रबारदेखि कर्फ्यु हट्ने संकेत, भन्सार नाका र बित्तीय सेवा सुचारुकाे तयारी

भैरहवा- रुपन्देही जिल्लाको शान्ति, सुरक्षामा क्रमश: सुधार हुँदै जान थालेपछि जिल्लाभर लगाइँदै आइएको कर्फ्यु तथा निशेधाज्ञा शुक्रवारदेखि हटाउने तयारी गरिएको छ ।

Advertisement

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले जिल्लाको शान्ति-सुरक्षामा सुधार हुँदै गएको दावी गर्दै सुरक्षा स्थितिको अवस्था अहिलेकै बिद्यमान रहेमा शुक्रवारदेखि कर्फ्यु हटाइने बताए ।

‘जिल्लाको स्थिति शान्त रहेमा जिल्लाभर नै भोलिदेखि कर्फ्यु हटाइने छ’, पब्लिक कुरासँगको कुराकानीमा उनले भने, ‘रुपन्देही जिल्लाको अवस्था सहज बनाउन भन्सार नाका केही हदसम्म सुचारु गरिएको छ ।’

उनका अनुसार खाद्यान्न लगायत् अन्य अत्याबश्यक सामानको आयातका लागि भैरहवा भन्सार कार्यालय र पर्यटक अवागमन सहज गर्न अध्यागमन कार्यालयलाई सुचारु गराउन थालिएको हो ।

बिहीवार अपरान्हदेखि नै खाद्यान्न, पेट्रोलियम पदार्थ, खाना पकाउने एलपी ग्यास, औषधि र चाँडो बिग्रिने फलफूल तथा तरकारीको आयात भैरहवा नाकाबाट सहज गर्न प्रबन्ध मिलाइएको उनले जनाए ।

शुक्रवारदेखि भैरहवा लगायत् रुपन्देहीमा रहेका बैंक तथा बित्तीय संस्थाका काउण्टर खोलेर सेवा सुचारु गराउने तयारी गरिएको छ । ‘अध्यागमन कार्यालयमा पर्यटक आवागमनका लागि सहज बनाउन तत्काल अनलाइन भुक्तानी प्रकिया मिलाइएको छ’, प्रजिअ पाण्डेले भने, ‘भोलिदेखि बैंक तथा बित्तीय संस्थाका काउण्टरसम्म भए पनि संचालन गरेर बित्तीय सेवा सुचारु गराइने छ ।’

जेनजी आन्दोलनको नामबाट भएकाे प्रदर्शनले मंगलवार रुपन्देहीमा सरकारी तथा व्यक्तिगत सम्पत्तिको तोडफोड आगजनी र लुटपाट गरेर आतंक मच्चिएपछि रुपन्देही जिल्लामा मंगलवारदेखि नै कर्फ्यु तथा निशेधाज्ञा लगाउँदै आइएको छ ।

यसैबीच प्रशासनसँग समन्वय गर्दै लुम्बिनी प्रेस क्लबको पहल र अन्य विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा शुक्रवार बिहान भैरहवामा शान्ति र सद्भाव र्याली प्रदर्शनको तयारी गरिएको छ । आपसी भाइचाराको सम्बन्ध र सामाजिक एकता कायम राख्दै आन्दोलनको आवरणमा घुसपैठीयाबाट हुने लुटपाट र आतंकको बिरोध गर्ने मुख्य उद्देश्य उक्त शान्ति र्यालीको हो ।

लुम्बिनी प्रेस क्लव, नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश, सिद्धार्थ उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही), बिएमजी र सिद्धार्थ संजाल, प्याब्सन रुपन्देही र सिद्धार्थ यातायात प्रालि लगायतका संघसंस्थाका प्रतिनिधिसँगको छलफलमा प्रजिअ पाण्डेले आन्दोलनको नाममा रुपन्देहीमा भएका लुटपाट तथा तोडफोड र आगजनी गर्ने व्यक्ति तथा समूहको पहिचान भइरहेको र उनीहरुलाई कानुनी कारवाहीको दायरामा ल्याइने बताए ।