September 10, 2025, Wednesday
२०८२ भाद्र २५ बुधबार

देशभर कर्फ्यू आदेश जारी, सेना परिचालन

भैरहवा– जेनजी आन्दोलनले मुलुकका सरकारी संरचनासँगै निजी सम्पत्ति समेत तहसनहस भएपछि नेपाली सेनाले देशभर कफ्र्यू आदेश जारी गरेको छ । आजका लागि साँझ ५ बजेसम्म कफ्र्यूको समय निर्धारण गरिएको छ । सेनाको विज्ञप्ति अनुसार साँझ ५ बजेपछि कफ्र्यू जारी रहने र तत्पश्चात् भोलि बिहान ६ बजेसम्म कफ्र्यू आदेश जारी हुने जानकारी गराइएको छ ।

Advertisement

आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समूहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट गरिरहेको सेनाले जनाएको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कफ्र्यू आदेश जारी भएको सेनाले जनाएको छ ।

व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलापहरु गरिरहेको र गर्नसक्ने सम्भावना रहेको सेनाले जनाएको छ । आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोट, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरुलाई दण्डनीय अपराधका रुपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुने नेपाली सेनाले चेतावनी दिएको छ ।

निषेधाज्ञा तथा कफ्र्युको दौरान अत्यावश्यक सेवाका सवारी साधनहरु (एम्बुलेन्स, शव बाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरु) सञ्चालन हुने छन् । आवश्यक सहजताका लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न सबैलाई सेनाले अनुरोध गरेको छ ।

अपराधजन्य गतिविधि नियन्त्रणको प्रयासहरुमा सहकार्यका लागि सबैलाई नेपाली सेनाले आह्वानसमेत गरेको छ । यस क्रममा सम्पूर्ण अवकाशप्राप्त सैनिक लगायत सुरक्षाकर्मीहरु, सबै सेवाका राष्ट्रसेवकहरु, सञ्चारकर्मी तथा आम नागरिकहरुमा अफवाहको पछाडि नलागी आधिकारिक सूचनामात्र सम्प्रेषण गर्न तथा आधिकारिकतामा मात्र विश्वास गर्न नेपाली सेनाले अनुरोध गरेको छ । साथै राष्ट्रिय एकता र सामाजिक सदभावलाई कायम राख्दै जनजीवन सामान्य बनाइराख्ने दायित्वलाई निरन्तरता दिने विश्वास सेनाले लिएको छ ।