जेनजी प्रदर्शनः रूपन्देहीमा ७ सय सुरक्षाकर्मी परिचालन

भैरहवा– रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी भएपछि जिल्ला भरि करिब ७ सयको संख्यामा सुरक्षाकर्मीको परिचालन गरिएको छ । रुपन्देही जिल्लाको विभिन्न चोक र अन्य संवेदनशिल क्षेत्रहरुको पहिचान गरि मंगलबार बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मीको तैनाथी र परिचालन गरिएको हो । विभिन्न सडक तथा राजमार्गमा पनि सुरक्षाकर्मीको पेट्रोलिङ गश्ती बिहानैदेखि बाक्लो छ ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डीएसपी तथा सूचना अधिकारी सुरज कार्कीले अनिश्चितकालीन निषेधाज्ञा जारी भएपछि जिल्लाभरि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि करिव ७ सयको संख्यामा सुरक्षाकर्मीको परिचालन गरिएको जानकारी दिए । उनका अनुसार, सादा पोशाकमा पनि सुक्षाकर्मीको परिचालन गरिएको छ ।
‘अनिश्चितकालीन निषेधाज्ञा जारी भएपछि जिल्लाको कुनै पनि स्थानमा जुलुश भेला नै हुन नदिने गरि सुरक्षाकर्मीको परिचालन गरिएको छ’, कार्कीले भने, ‘संवेदनशील क्षेत्रको पूर्व आँकलन गरि त्यही अनुरुपको सुरक्षा व्यवस्था मिलाइएको छ ।’
उनका अनुसार, भैरहवाको बुद्धचोक, देवकोटाचोक, अंचलपुर, बनगाइचोक र बुटवलको कालिकानगर, राजमार्गचौराहा, ट्राफिकचोक, तीनकुने चोक लगायतका स्थानलाई संवेदनशिल मानेर सुरक्षाकर्मीको परिचालन गरिएको छ । विभिन्न सरकारी कार्यालय र नगरपालिका कार्यालयहरुमा पनि सुरक्षा निकायको बिशेष निगरानी छ ।
७५ सेल अश्रुग्यास ७ जना सुरक्षाकर्मी घाइते
हिजो (मंगलवार) जेनजीहरुले बुटवलको विभिन्न स्थानमा गरेको प्रदर्शन तथा आन्दोलनका क्रममा सुरक्षाकर्मीको तर्फबाट ७५ सेल अश्रुग्यास प्रहार भएको छ । जसमध्ये नेपाल प्रहरीको तर्फबाट ३८ र सशस्त्र प्रहरीको तर्फबाट ३७ सेल अश्रुग्यास प्रयोग गर्नु परेको डीएसपी कार्कीले बताए ।
उनका अनुसार, जेनजीहरुले गरेको आन्दोलनको क्रममा प्रहार गरेको ढुंगा र ईंट्टा लागेर ७ जना सुरक्षाकर्मी घाइते भएका थिए । जसमा नेपाल प्रहरीका ५ र सशस्त्र प्रहरीका २ जना थिए । बुटवलस्थित प्रादेशिक अस्पतालमा उनीहरुको उपचार पश्चात् अहिले घाइते सवैजना डिस्चार्ज भएका छन् ।
‘आन्दोलनका क्रममा सुरक्षाकर्मीले धेरै संयमता अपनाएर थप बल प्रयोग गरिएको थिएन’, कार्कीले भने, ‘हिजो बुटवल क्षेत्रमा गरिएको भएका झडपमा कोही पनि प्रदर्शनकारी सुरक्षाकर्मीको कारणबाट घाइते भएनन् ।’
प्रतिकृया दिनुहोस्